दोस्रो टेस्टमा इंग्ल्यान्डमाथि घरेलु टिम न्युजिल्यान्डले १ रनको रोमाञ्चक जित हात पारेको छ।
न्युजिल्यान्डले दिएको २५८ रनको लक्ष्य पछ्याएर दोस्रो इनिङ्ग्स ब्याटिङ गरेको इंग्ल्यान्ड २५६ रनमै अलआउट भएको थियो।
जितका लागि २ रन चाहिएको स्थितिमा न्युजिल्यान्डका निल वाग्नरले इंग्ल्यान्डका जेम्स एन्डर्सनलाई ४ रनमा आउट गर्दा इंग्लिस टिम अलआउट भएको थियो।
दोस्रो इनिङ्ग्समा इंग्ल्यान्डका लागि जोए रूटले ९५ रन जोड्दा बलिङमा न्युजिल्यान्डका वाग्नरले ४ विकेट, टिम साउथीले ३ विकेट र माट हेनरीले २ विकेट लिए।
त्यसअघि पहिलो इनिङ्ग्समा इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ४३५ रन जोड्दै इनिङ्ग्स समाप्तीको घोषणा गरेको थियो। पहिलो इनिङ्ग्समा इंग्ल्यान्डका लागि जोए रुटले १५३ रन र ह्यारी ब्रुकले १८६ रन जोडेका थिए।
त्यसपछि न्युजिल्यान्ड २०९ रनमै अलआउट हुँद फलोअनमा पर्यो। लगत्तै दोस्रो इनिङ्ग्स ब्याटिङ गरेको न्युजिल्यान्डले उत्कृष्ट ब्याटिङ गरेको थियो। दोस्रो इनिङ्ग्समा उसले ४८३ रन जोड्यो।
न्युजिल्यान्डका लागि केन विलियमसनले १३२ रन जोड्दा टम लाथमले ८३ रन, डेवन कनवेले ६१ रन, ड्यारल मिचेलले ५४ रन र टिम ब्लुन्डेलले ९० रन जोडेका थिए।