आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, पपुवा न्युगिनी (पिएनजी) र युएईबीचको त्रिकोणात्मक सिरिजमा पिएनजीले जित निकालेको छ।
पिएनजीले मंगलबार दुबईमा भएको खेलमा घरेलु टिम युएईलाई १३१ रनले पराजित गरेको छ।
पिएनजीले दिएको २६३ रनको लक्ष्य पछ्याएको युएई ३४.२ ओभरमा १३१ रनमा अलआउट भयो।
युएईका लागि ओपनर मोहमद वासिमले २४ रन जोडे। वृत्य अरविन्दले २३ रन र आसिफ खानले २० रन बनाए भने जाहूर खान २३ रन जोडेर आउट भए।
बलिङमा पिएनजीका चाड सोपरले ५ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा २५ रन खर्चिए।
टस हारेर पहिले ब्याटिङ गरेको पिएनजी ५ बल खेल्न बाँकी छदा २६२ रनमा अलआउट भयो। पिएनजीका लागि ओपनरद्वय टोनी उरा र किपलिङ डोरिगाले क्रमश: ५१ रन र ४२ रन जोडे।
सेसे बाउले ७४ रन र कप्तान असद भालाले २३ रन बटुले।
बलिङमा युएईका कार्तिक मेइयाप्पनले ४ विकेट र आर्यन लक्राले ३ विकेट लिए।
सिरिजमा नेपालले बिहीबार युएईसँग प्रतिस्पर्धा गर्नेछ।
लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।
लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ। युएई २९ खेलबाट २९ अंक जोड्दै पाँचौ स्थानमा छ।
छैटौं स्थानको नेपालले २९ खेलबाट २८ अंक जोडेको छ। पुछारको पिएनजीको ३० खेलबाट ७ अंक छ।
नेपालले शीर्ष तीनमा पर्न ६ खेल र एकदिवसीय मान्यता जोगाउन ४ खेल जित्नु पर्नेछ।
नेपाल, युएई र पिएनजीबीचको अन्तिम सिरिज फागुन अन्तिम साता नेपालमा हुनेछ।