आइसिसी यू-१९ क्रिकेट विश्वकप २०२४ मा स्थान बनाउन आज नेपालले निर्णायक खेल घरेलु टोली युएईविरूद्ध खेल्दैछ।
श्रीलंकामा हुने २०२४ को युवा विश्वकपका लागि एसिया छनोट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले युएईको सामना गर्न लागेको हो। यो छनोटको विजयी हुने एक टोलीले विश्वकपमा स्थान बनाउनेछ।
विहीबार आजमानमा रहेको इडेन गार्डेन ओभलमा आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले युएईसँग खेल्दैछ। खेल नेपाली समय अनुसार १०ः ४५ मा हुनेछ ।
६ टिमबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगितामा आजै सबै टिमले आफ्नो अन्तिम खेल खेल्नेछन्।
यसअघि नेपाल र युएईले लगातार चार खेलमा जित निकालेर समान ८-८ अंक जोडेका छन्। रनरेटमा भने नेपालभन्दा घरेलु टिम युएई अघि छ।
च्याम्पियन टिम विश्वकपमा पुग्ने नियमअनुसार नेपालले विश्वकपमा स्थान बनाउन आज युएईविरुद्धको खेलमा जित निकाल्नु पर्नेछ। नेपाललाई हराए युएई विश्वकपमा पुग्नेछ।
यसअघिका खेलमा नेपाल र युएई दुवै टिमले मलेसिया, सिंगापुर, हङकङ र कुवेतलाई पराजित गरेका थिए।
नेपालले सन् २०१६ देखि यू-१९ विश्वकपमा स्थान बनाउन सकेको छैन। सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू-१९ विश्वकप गुमाइसकेको छ।
सन् २००० मा पहिलो पटक यू-१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो।