आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत आज नेपालले घरेलु टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र युएईबीचको खेल बिहिबार बिहान ११:४५ बजेदेखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरू हुनेछ।
दुवै टिमले अहिलेसम्म समान २९–२९ खेल खेलिसकेका छन्। सन् २०१९ देखि सुरू भएको विश्वकप लिग टुको अंक तालिकामा युएई पाँचौं र नेपाल छैटौं स्थानमा छन्। आज नेपालले युएईलाई हराएमा तालिकामा पनि पछि पार्नेछ। साथै लागातार ६ खेलमा जितकी कीर्तिमानसमेत बनाउनेछ। यो अंक तालिकाको शीर्ष ५ भित्र अटाउने टोलीको एक दिवसीय मान्यता जोगिनेछ।
पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपाली टोलीले सोही प्रदर्शनलाई निरन्तरता दिने प्रयासमा हुनेछ।
यसअघि युएई सिरिजको पहिलो खेलमा पपुवान्यूगिनीलाई हराएको नेपालले काठमाडौंमा भएका सिरिजका ४ वटै खेलमा जित निकालेको थियो।
यता, युएई भने नेपालसँगको खेलअघि पीएनजीसँग १३१ रनले पराजित भएको थियो।
पपुवा न्युगिनीसँगको फराकिलो हारले युएईलाई थप दबाब छ। यदि आज नेपालसँग पराजित भएमा उसको ओडिआई मान्यतासमेत जोखिममा पर्नेछ। शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न युएईले पनि अब ७ मध्ये ६ खेल जित्नुपर्ने हुन्छ। शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन कम्तिमा ४ खेलमा जित्न आवश्यक छ।
हेड टु हेड :
नेपाल र युएईबीच ओडिआईमा कुल ९ खेल भएको छ । जसमा युएई ५ र नेपाल ४ खेलमा विजयी भएको छ । लिग २ का दुवै खेलमा नेपाल पराजित भएको छ।
नेपालले गत पुसमा घरेलु मैदान टियुमा भएको तीन ओडिआई खेलको सिरिज २-१ ले जितेको थियो। २०१९ मा पनि युएईलाई उसकै घरेलु मैदानमा सिरिज २-१ ले जितेको थियो।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, मौसम ढकाल (श्याम), गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी. ।
लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।
लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ। युएई २८ खेलबाट २९ अंक जोड्दै पाँचौ स्थानमा छ।
छैटौं स्थानको नेपालको पनि २९ खेलबाट २८ अंक जोडेको छ। पुछारको पिएनजीको ३० खेलबाट ७ अंक छ।
अब नेपालले शीर्ष तीनमा पर्न ६ खेल र एकदिवसीय मान्यता जोगाउन ४ खेल जित्नु पर्नेछ।
नेपाल, युएई र पिएनजीबीचको अन्तिम सिरिज आगामी फागुन अन्तिम साता नेपालमै हुनेछ।