सन् २०१६ मा बंगलादेशमा भएको यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली टिमले समूह चरणमा तहल्का मच्चाएको थियो।
समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डलाई पराजित गरेको नेपालले दोस्रो खेलमा आयरल्यान्डलाई हरायो।
आयरल्यान्डविरुद्धको खेलमा सन्दीप लामिछानेले ह्याट्रिक गर्दै सनसनी मच्चाएका थिए।
सो विश्वकपको समूह चरणको तेस्रो खेलमा भारतसँग पराजित भए पनि नेपाल क्वार्टरफाइनलमा पुग्यो। क्वार्टरफाइनलमा बंगलादेशसँग पराजित भयो।
त्यसयता भने नेपालले लगातार तीन विश्वकप गुमायो।
सन् २०१८ को विश्वकपको छनोटमा अफगानिस्तानसँग पराजित भएको नेपालका लागि २०२० को छनोट दूर्भाग्यपूर्ण सावित भएको थियो। छनोटको निर्णायक खेलमा युएईसँग १ रनले हार्दा नेपाल २०२० र २०२२ को यू-१९ विश्वकप खेल्नबाट बन्चित भयो।
तीन विश्वकपमा स्थान बनाउन नसकेको नेपालका लागि बिहीबार भने ऐतिहासिक दिन सावित भयो। सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपमा स्थान बनाउने क्रममा नेपालले युएईलाई पराजित गर्यो।
चार वर्षअघि युएईसँगै १ रनले पराजित हुँदा विश्वकप गुमाएको नेपालले बिहीबार युएईलाई नै पराजित गर्दै बदला लिन सफल भयो।
बिहीबार घरेलु टिम युएईलाई ७ रनले पराजित गर्ने क्रममा नेपालका दिपेश कडेँलले ह्याट्रिकसहित पाँच विकेट लिए।
नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको युएईले ४७ ओभरमा ७ विकेटको क्षतिमा १८१ रन जोडेको थियो। ३ विकेट बाँकी रहेको युएईले अन्तिम ३ ओभरमा ११ रन जोडे पुग्थ्यो।
तर ४८ ओभरको अन्तिम ३ बलमा दिपेशले घातक बलिङ गर्दै नेपाललाई यू-१९ विश्वकपमा पुर्याए।
उनले सो ओभरको चौथो ओभरमा हर्सित सेठलाई ४ रनमा बोल्ड गर्दा पाँचौ बलमा हरिस सेठ्ठीलाई कप्तान देव खनालको हातबाट क्याच गराए। छैटौं बलमा उनले मनिस गजेशलाई पनि बोल्ड गर्दै आफ्नो करिअरको अविस्मरणीय बलिङ गरे।
दिपेशको ऐतिहासिक बलिङसँगै युएई १८४ रनमा अलआउट हुँदा नेपालले खेल ७ रनले जित्यो।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरे पनि कप्तान देव खनालले ५१ रन, उत्तम थापामगरले ३६ रन र विशालविक्रम केसीले ३८ रन जोडेका थिए।
सुरुवाती तीन ब्याट्सम्यान दीपक बोहरा शून्य, अर्जुन कुमाल ३ रन र आकाश त्रिपाठी ९ रनमा आउट भएका थिए। त्यसपछि कप्तान देवले धैर्यपूर्वक ब्याटिङ गरेका थिए।
यसअघि सन् २०२० र २०२२ को यू-१९ विश्वकपमा नेपाललाई पछि पार्दै युएईले स्थान बनाएको थियो।
सन् २०२२ को विश्वकपमा खेल्न नपाएसँगै नेपालले लगातार तेस्रो पटक यू-१९ विश्वकप गुमाएको थियो।
२०२२ मा नेपालको विश्वकप खेल्ने लक्ष्यमा कोरोना महामारी बाधक बन्यो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले कोरोनाका कारण एसिया छनोट रद्द गर्दै युएईलाई अवसर गर्ने निर्णय गर्यो।
आइसिसीले पछिल्लो पाँच विश्वकपको छनोटको आधारलाई मान्दै एसियाबाट युएईलाई छनोट गरेको थियो। पछिल्ला पाँच युवा विश्वकप मध्ये युएईले २०१४ र २०२० को विश्वकप खेलेको थियो। युएईले २०१४ मा आयोजकको हैसियतमा विश्वकप खेल्दा २०२० मा नेपाललाई पछि पार्दै विश्वकप खेलेको थियो।
नेपालले पछिल्ला पाँच विश्वकप मध्ये २०१२ र २०१६ को विश्वकप खेलेको थियो।
सन् २०२० को युवा विश्वकपको छनोटमा नेपालको लक्ष्यलाई बर्षाले असर गरेको थियो।
सन् २०१९ को अप्रिलमा मलेसियामा भएको छनोटअन्तर्गत युएईविरुद्धको खेलमा बर्षा बाधक बन्यो। बर्षा बाधक बन्दा नेपाल डिएल मेथडमा १ रनले पराजित हुन बाध्यो। उक्त हार नेपालका लागि विश्वकप खेल्नमा बाधक बन्यो। अरु सबै खेलमा जित हात पारे पनि नेपाल समूहमा युएईभन्दा पछि पर्दै दोस्रो भयो।
युएईसँग डिएल मेथडमा हारेको मूल्य नेपालले २०२२ को विश्वकपमा पनि चुकाउन पर्यो। आइसिसीले अघिल्लो विश्वकपमा छनोट भएको युएईलाई सन् २०२२ को विश्वकप छनोट गर्दा नेपाल फेरि पनि विश्वकप खेल्नबाट बञ्चित भएको थियो।
त्यसअघि २०१८ को विश्वकपमा पनि नेपाल छनोट हुन सकेको थिएन। सिंगापुरमा भएको छनोट प्रतियोगितामा नेपाल, अफगानिस्तान, हङकङ, युएई, सिंगापुर र मलेसियाले भाग लिएका थिए। नेपाल अफगानिस्तानसँग खेलेका दुवै खेलमा पराजित भयो। अन्य सबै खेल जिते पनि नेपालले अफगानिस्तानलाई पछि पार्न सकेन।
सन् २००० मा पहिलो पटक यू-१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो।