आइसिसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) विरुद्धको खेलमा घरेलु टिम युएई ९७ रनमै अलआउट भएको छ।
आइतबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा पिएनजीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएई २६.२ ओभरमा ९७ रनमा अलआउट भएको हो।
युएईका लागि वृत्य अरविन्दले सबैभन्दा बढी २६ रन जोडे। युएईका पुछारका सात ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
युएईको ब्याटिङ ध्वस्त पार्ने क्रममा पिएनजीका रिले हेकुरेले ५ विकेट लिए। उनले ४.२ ओभरमा १ मेडन राख्दा १३ रन खर्चिए। चाड सोपरले ३ केट लिँदा चार्ल्स अमिनीले १ विकेट लिन सफल भए।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत अहिले दुबईमा नेपाल, पिएनजी र युएईबीच त्रिकोणात्मक एकदिवसीय सिरिज भइरहेको छ।
सिरिजमा नेपालले अन्तिम खेल सोमबार युएईसँग खेल्नेछ। यसअघिका दुवै खेलमा नेपालले पिएनजीलाई पराजित गर्दा युएईविरुद्धको पहिलो खेलमा भने हार बेहोरेको थियो।
यी तीनै टिमबीच नेपालमा फागुन २५ देखि लिग-२ को अन्तिम सिरिज हुँदैछ।
लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।
लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ। युएई ३० खेलबाट ३१ अंक जोड्दै पाँचौ स्थानमा छ।
छैटौं स्थानको नेपालको ३१ खेलबाट ३० अंक जोडेको छ। पुछारको पिएनजीको ३१ खेलबाट ७ अंक छ।
अब नेपालले लिग-२ को शीर्ष तीन स्थानमा पुग्न बाँकी रहेका ५ खेलबाट जित हात पार्नु पर्दा एकदिवसीय मान्यता जोगाउन ३ खेलमा जित निकाल्नु पर्छ।