आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईविरूद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ।
नेपालका लागि ओपनर आसिफ शेखले १४ बल खेलेर ६ रन बनाएर आउट भए। अघिल्लो खेलम पिएनजीविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै खेल जिताएका शेख आज सुरूआतमै आउट भएका हुन्।
अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल र कुशल मल्ल ब्याटिङ गरिरहेका छन्।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले पहिलो पाँच ओभरमा १ विकेट गुमाएर १४ रन बनाएको छ।
नियमित ओपनर कुशल भुर्तेल बायाँ खुट्टाको ग्रोइनमा चोटका कारण टोलीबाट बाहिरिएपछि ज्ञानेन्द्रले ओपनिङ गरेका हुन्।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ। घाइते ओपनर कुशल भुर्तेलको स्थानमा नेपालले आज तीव्र गतिका बलर प्रतिश जि.सीलाई मौका दिएको छ।
प्रतिशले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू गरेका थिए । उक्त खेलमा ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका प्रतिश त्यसपछि भने बेन्चमा थिए। प्रतिश बायाँ हाते तीव्र गतिका बलर हुन्।
लिग टुमा यूएईविरुद्ध नेपालले जित हात पार्न सकेको छैन। त्यसैले लिग टुमा आज यूएईलाई पहिलोपटक पराजित गर्नु नेपालको लक्ष्य हुनेछ।
शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने आशा कायमै राख्न नेपालले घरेलु टोली युएईलाई हराउनैपर्ने हुन्छ। तर लिग-२ मा नेपालले युएईलाई हालसम्म हराएको छैन। लिग २ मा नेपाल र युएईबीच तीन खेल हुँदा सबै खेलमा घरेलु टोली युएई विजयी भएको छ।
नेपालाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता बचाउन अब बाँकी ५ मध्ये तीन खेल जित्नुपर्ने हुन्छ। युएईलाई पनि शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न नेपाललाई हराउनैपर्ने दबाब छ। युएईलाई ओडिआई मान्यता सोझै जोगाउन नेपाललाई जस्तै तीन जित आवश्यक देखिन्छ।
यसअघि नेपाल पहिलो खेलमा युएईसँग ६८ रनले पराजित भएको थियो । जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल खराब ब्याटिङ गर्दै १३९ रनमा अलआउट भएको थियो । ६८ रनको फराकिलो अन्तरले पराजित भएको नेपाल जितका साथ यूएई भ्रमण टुंग्याउने लक्ष्यमा छ।
टिमले यूएईसँगको खेलअघि दुई दिन आराम गरेको छ।
पछिल्लो खेल नेपालले गत शुक्रबार पीएनजीसँग खेलेको थियो। पीएनजीसँगका दुवै खेलमा नेपाल विजयी भएको थियो। यदि आज यूएईलाई हराए अंक तालिकाको शीर्ष तीनको सम्भावना कायमै रहनेछ। नेपालको ३१ खेलबाट ३० अंक छ । यूएईमाथि जित हात पारे नेपाल तालिकाको पाँचौं स्थानमा उक्लनेछ।
ओपनर कुशल भुर्तेलले आजको खेल गुमाउनेछन्। उनको ग्रोइङमा चोट लागेको छ। कुशललाई सन्दीप जोराले प्रतिस्थापन गर्नेछन्। यूएईपछि नेपालले घरेलु मैदानमा फागुन २५ देखि यूएई र पीएनजीसँगै लिग टुको अन्तिम सिरिज खेल्नेछ। बाँकी पाँचमध्ये तीन खेल जिते नेपालको ओडीआईले निरन्तरता पाउनेछ भने सबै खेल जिते शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्नेछ।