आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज आजबाट काठमाडौंमा सुरू हुँदैछ।
नेपाल, युएई र पपुवान्युगिनी (पीएनजी) सम्मलित सिरिजको पहिलो खेलमा आज घरेलु टोली नेपाल र पीएनजी बीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ९ बजेबाट खेल सुरू हुनेछ।
यसअघि युएईमा आयोजित दोस्रो अन्तिम त्रिकोणात्मक सिरिजमा सहभागी भएर तीनै टोली नेपाल आएका हुन्।
लिग टुको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेल्न युएई भ्रमण गएको नेपालले खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको थियो। अव स्वदेशी भूमिमा हुने अन्तिम त्रिकोणात्मक ओडिआई सिरिज क्लिन स्वीप पार्दै सिधै विश्वकप छनोटमा स्थान बनाउने लक्ष्य बोकेको छ।
नेपालले काठमाडौंमा हुने सिरिजका सबै चार खेल जितेमा आगमी जुन-जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सिधै खेल्न पाउनेछ।
नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ। लिग-२ का शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाउँछन्। स्कटल्यान्ड ५० अंकका साथ च्याम्पियन र ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगिसकेका छन्।
अब नेपालले सबै खेल जितेमा ४० अंक हुनेछ। उक्त अंक शीर्ष तीनमा पुग्न पर्याप्त रहनेछ। यदि कुनै पनि खेलमा पराजित भएको खण्डमा भने नेपालले प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ। सोझै ओडिआई मान्यता जोगाउन नेपालले चार मध्ये दुई खेल जित्नुपर्ने हुन्छ।
नेपालले आगामी फागुन २८ मा युएईसँग दोस्रो र फागुन २९ मा पपुवान्युगिनीसँग तेस्रो र चैत २ मा युएईसँग विश्वकप लिग टुको अन्तिम खेल खेल्नेछ।
यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा हुने सिरिजका सबै खेल आफ्ना लागि महत्वपूर्ण भएको बताएका छन्।
पछिल्लोपटक भ्रमण गरेका देशसँग पुनः घरेलु मैदानमा खेल्दा टोलीलाई दर्शकको साथ हुने र थप बलिङ र ब्याटिङ पक्ष सबै थाहा हुने भएकाले खेल्न सहज हुने कप्तान पौडेलले बताए।
उनले घरेलु मैदान भएकाले पनि नेपाली टोलीका लागि थप सहज हुने उनको तर्क गरे। शीर्ष तीनमा अटाउन गरिएको योजनाअनुसार शृंखलाका खेलहरु भइरहेको र अन्तिम शृंखलामा पनि अपेक्षाअनुसारको नतिजा आउने दाबी पौडेलले गरे।
कप्तान रोहितले यूएई भ्रमणमा ब्याटिङ पक्षमा केही कठिन भएको तर कीर्तिपुर मैदानको अवस्थामा सबै खेलाडी अभ्यस्त भएकाले राम्रो खेल हुने विश्वास व्यक्त गरे । उनले कुशल भुर्तेल चोटमुक्त हुँदै खेलमा फर्किनेसमेत जनाए ।
यस्तै प्रशिक्षक मोन्टी देशाई बिहीबार हुने चार खेलमा आफू केन्द्रित रहेको र सबै खेल कठिन भएको प्रतिक्रिया दिए। यूएई र पीएनजी दुवै टोली बलियो प्रतिद्वन्द्वी भएको र लिगको अन्तिम सिरिज भएकाले खेलहरु प्रतिस्पर्धात्मक हुने उनले जानकारी दिए।