ओपनर आशिफ शेखले आफ्नो आठौं अर्धसतक पुरा गरेका छन्।
आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध उनले ४७ बलमा ५ चौका र २ छक्कासहित अर्धसतक पुरा गरेका हुन्।
यो सँगै उनी नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी बने।
सन् २०२१ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका आशिफले ३२ खेल खेलेका छन्। अहिलेसम्म उनको एकदिवसीयमा उच्च स्कोर ९० रन हो। एकदिवसीय अन्तर्राष्ट्रियमा रोहित पौडेल र ज्ञानेन्द्र मल्लले ७-७ अर्धशतक बनाएका छन्।
रोहितले एक शतक पनि प्रहार गरेका कारण उनी नेपालका लागि धेरै पटक ५० रन भन्दा बढी (८ पटक) बनाउने खेलाडी हुन्।
टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले उत्कृष्ट सुरूआत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा नेपालले १७ ओभरको समाप्तीमा बिना कुनै विकेट क्षति १०० रन पूरा गरिसकेको छ।
नेपालका लागि कुशल भुर्तेल अर्धशतक नजिक छन्।
पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए पछि नेपालले ब्याटिङ गर्ने भएको हो।
नेपालले आजको खेलमा अघिल्लो टोलीबाट एक परिवर्तन गरेको छ। प्रतिश जिसीको ठाउँमा कुशल भुर्तेलले खेल्ने भएका छन्। नेपालले अन्य परिवर्तन नगरेको कप्तान रोहित पौडेलले जानकारी दिए।
घाइते भएर कुशलले युएईसँगको अन्तिम खेल गुमाएका थिए। तर उनी फिट भएपछि प्रतिश बाहिर बसेका हुन्।