आइसिसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) विरुद्ध नेपालले उत्कृष्ट सुरूवात गर्दै पहिलो विकेटका लागि ११० को साझेदारी गर्यो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेललाई १८.४ ओभरमा गुमायो। ४५ रनमा आउट भएका कुशलले ५६ बलमा ६ चौका हिर्काए।
नेपालले बाँकी ३० रन बनाउँदा थप दुई विकेट गुमायो। कुशल मल्ल २१ ओभरको अन्तिम बलमा २ रनमै आउट हुँदा ज्ञानेन्द्र मल्ल २५ ओभरको अन्तिम बलमा ११ रन बनाएर आउट भए।
नेपालले २५ ओभरमा ३ विकेट गुमाउँदा १४० रन जोड्यो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान आशिफ शेख अर्धशतक बनाएर खेलिरहेका छन्। उनलाई रोहित पौडेलले साथ दिइरहेका छन्। बलिङमा पिएनजीका रेली हाकुरेले ३ विकेट लिएका छन्।
नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तिम सिरिज हो। यो सिरिज नेपालका लागि दुई अर्थमा महत्वपूर्ण सावित हुनेछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका चार मध्ये दुई खेल जिते नेपालको लिग-२ बाटै एकदिवसीय मान्यता जोगिनेछ। चारै खेलमा हात पारे नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।
सिरिजमा नेपालले अब फागुन २८ मा युएई, फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ।
लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।
लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ।
पाँचौ स्थानमा उक्लिएको नेपालले ३२ खेलबाट ३२ अंक जोडेको छ। युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा झरेको छ। पुछारको पिएनजीको ३२ खेलबाट ९ अंक छ।