नेपालका ओपनर आशिफ शेखले एक दिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका छन्।
उनी नेपालका लागि १ हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनेका छन्। यसअघि कप्तान रोहित पौडेलले १ हजार रन बनाइसकेका छन्।
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध त्रिवी क्रिकेट मैदानमा शेखले ९० रन पुर्याएसँगै उनले १ हजार रनको कोशेढुंगा पार गरेका हुन्।
सन् २०२१ मा पिएनजीविरूद्धनै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका आशिफले ३२ खेल खेलेका छन्।
यसअघि उनको एकदिवसीयमा उच्च स्कोर ९० रन थियो। उनले ओमानविरूद्ध ११२ बल खेल्दै ९० रन बनाएका थिए।
पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए पछि नेपालले ब्याटिङ गर्ने भएको हो।
नेपालले आजको खेलमा अघिल्लो टोलीबाट एक परिवर्तन गरेको छ। प्रतिश जिसीको ठाउँमा कुशल भुर्तेलले खेल्ने भएका छन्। नेपालले अन्य परिवर्तन नगरेको कप्तान रोहित पौडेलले जानकारी दिए।
घाइते भएर कुशलले युएईसँगको अन्तिम खेल गुमाएका थिए। तर उनी फिट भएपछि प्रतिश बाहिर बसेका हुन्।