आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले बिहीबार पपुवा न्युगिनी (पिएनजी) लाई ५२ रनले हरायो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पिएनजी ४८ ओभरको पहिलो बलमा २४५ रनमा अलआउट भयो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ५ बल खेल्न बाँकी छदा २९७ रनमा अलआउट भएको थियो।
नेपालका लागि ओपनिङ ब्याट्सम्यान आशिफ शेखले शतक हिर्काए। प्लेयर अफ दि म्याच भएका विकेटकिपर ब्याट्सम्यान आशिफले ११० बलमा १२ चौका र २ छक्काको मद्दतमा ११० रन जोडे। यससँगै उनले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा एक हजार रन समेत पूरा गरे।
उनी एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने नेपालका दोस्रा ब्याट्सम्यान बने। यसअघि कप्तान रोहितकुमार पौडेलले नेपालका लागि एक हजार रन पूरा गरेका थिए।
आशिफ नेपालका लागि एकदिवसीय शतक प्रहार गर्ने पाँचौ खेलाडी बने। यसअघि पूर्वकप्तान पारस खड्कासहित कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र रोहित पौडेलले नेपालका लागि एकदिवसीय शतक प्रहार गरेका थिए।
उनले १०१ बलमा पहिलो एकदिवसीय शतक पूरा गरेका थिए। ३७ ओभरको अन्तिम बलमा एक रन लिएर शतक बनाउनुअघि शेख रन लिने वा नलिने द्विविधामा थिए।
पिएनजीका एलेइ नाओको बलमा सर्ट प्रहार गरेपछि रन लिन दौडिएका उनी बीचैमा रोकिएका थिए। तर पिएनजीका फिल्डरले ओभर-थ्रो गरेपछि शेखले एक रन लिँदै शतक पूरा गर्न सफल भए।
शेखले आफ्नो ३२औं एकदिवसीय खेलमा शतक प्रहार गर्न सफल भए। सन् २०२१ मा पिएनजीविरुद्ध नै एकदिवसीय खेलमा डेब्यू गरेका उनले यसअघिका ३१ खेलमा शतक प्रहार गर्न सकेका थिएनन्। उनले सात वटा अर्धशतक भने प्रहार गरेका थिए।
‘शतक पूरा गरेपछि ठूलो रिलिफ भयो। एकदिवसीय अन्तर्राष्ट्रिय शतकका लागि ३१ खेल कुरिरहेको थिएँ। अन्तत: आज प्रहार गर्न सफल भए। एकदमै खुसी लागिरहेको छ,’ शतक प्रहार गर्नुअघि पिएनजीका बलरले क्याच ड्रप गर्दा जीवनदान पाएका शेखले खुसी साटे, ‘क्याचहरु ड्रप हुनु खेलको एउटा पार्ट हो। तर पनि ड्रप हुँदा रिलिफ पनि भइहाल्छ। ड्रप भएपछि नयाँ सुरुवात गर्दै अघि बढेँ।’
उनले आफूले फिटनेसमा ध्यान दिने गरेको पनि खुलाए।
‘ओपनिङमा आएर ब्याटिङ गर्नका लागि फिटनेसमा भर पर्छ। ५० ओभरको खेल खेल्नु छ भने फिटनेसमा पनि ध्यान दिनु पर्छ,’ उनले भने।
घरेलु मैदानमा ब्याटिङ गर्दै शतक प्रहार गरेको क्षण विशेष हुने उनको भनाइ छ।
‘त्रिवि मैदानमा खेल्दा अलि फाइदा हुन्छ। किनभने हामीले यहाँ धेरै खेल खेलिसक्यौं। घरेलु दर्शकको अघि खेल्दा हरेक बलमा समर्थन पाइरहेका हुन्छौ। यसलाई हामीलाई फाइदा पुग्छ। विशेषगरी ब्याटिङ गर्दा अझ मजा हुन्छ,’ आशिफले भने।
राष्ट्रिय टिमका दाजु-भाइ
उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरे पनि आशिफले राष्ट्रिय टिममा स्थान बनाउन संघर्ष गर्नुपर्यो।
उनले सन् २०२१ मा मात्र नेपालको एकदिवसीय र टी-२० राष्ट्रिय टिममा डेब्यू गरेका थिए। त्यसअघि उनले नेपालको राष्ट्रिय टिमबाट खेले पनि ती खेल एकदिवसीय वा टी-२० मान्यताप्राप्त थिएनन्।
राष्ट्रिय टिमका अलराउन्डर आरिफ शेखका भाइ आशिफले २०७३ सालमा भएको एभरेष्ट प्रिमियर लिगको फाइनलमा सनसनी मच्चाएका थिए। त्यतिबेला १६ वर्षे आशिफले पञ्चकन्या तेजका लागि खेल्दा फाइनल खेलमा शतक बनाएका थिए।
आशिफले १ सय ११ रन बनाएको खेलमा पञ्चकन्याले कलर्स एक्स फ्याक्टरलाई ४० रनले हराउँदै उपाधि जितेको थियो।
त्यसपछि चर्चामा रहे पनि आशिफले टी-२० मा डेब्यू गर्न पाँच वर्ष कुर्नुपर्यो।
शेख दाजुभाइ वीरगञ्जका हुन्। उनका बुबा मोहमद सलाम शेख पेसाले मेकानिकल ईन्जिनिनर हुन्। उनी वीरगन्जमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्छन्।
दाइ आरिफ सन् २०१४ मा यू–१९ राष्ट्रिय क्रिकेट टिममा पर्न सफल भएका थिए।
युएईमा भए एसिसी यू–१९ एसिया कपका लागि आरिफ छनोट भएका थिए। त्यतिबेला आरिफले मध्यक्रममा ब्याटिङ गर्दै पाकिस्तानविरूद्ध २५, भारतविरुद्ध ४० र यूएईविरुद्ध ४८ रन प्रहार गरे। यो प्रदर्शनले आरिफले सिनियर राष्ट्रिय टिमको ढोका खोलेका थिए।
भाइ आशिफ २०१७ मा नेपालको राष्ट्रिय टिममा परेका थिए। त्यतिबेला पनि आरिफ र आशिफ दुबै जनाले बंगलादेशमा भएको एसिसी इमर्जिङ नेसन्स कपमा प्रतिस्पर्धा गरेका थिए। सो प्रतियोगिता एकदिवसीय भए पनि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका यू-२३ टिमले भाग लिएका थिए।
शेख दाजुभाइले त्यतिबेला हङकङविरूद्ध सँगै खेलका थिए। सो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो। खेलमा आशिफले ओपनिङ गर्दै ८ रन जोड्दा आरिफले बलिङ मात्र गरेका थिए। उनले पाँच ओभर बलिङ गर्दा विकेट लिन सकेका थिएनन्।
प्रतियोगितामा आशिफले राम्रो खेल्न सकेनन्। जसका कारण उनलाई राष्ट्रिय टिममा फर्कन चार वर्ष लाग्यो।
आरिफ र आशिफ नेपाली सिनियर राष्ट्रिय क्रिकेट टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने दोस्रा दाजुभाइ हुन्।
यसअघि विराटनगरका मञ्जित र युनिल श्रेष्ठको दाजुभाइ जोडीले पनि नेपाली राष्ट्रिय टिमबाट खेलेका थिए। श्रेष्ठ दाजुभाइले सन् २००२ मा हङकङमा भएको तीन दिवसीय प्रतियोगिता खेलेका थिए।
आरिफ २०७१ सालमा भएको राष्ट्रिय प्रतियोगिताबाट चर्चामा आएका थिए। त्यतिबेला क्षेत्र नम्बर २ वीरगन्जका आरिफले ६ खेलमा कुल दुई सय ६२ रन प्रहार गर्दै ११ विकेट लिएका थिए। जसका कारण तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले लगत्तै मलेसियामा भएको एसिसी प्रिमियर लिगका लागि आरिफलाई नेपाली टिममा छनोट गरेका थिए।
आशिफले नेपालको उमेर समूहमा यू-१६ र यू-१९ बाट खेले। सन् २०१६ को इमर्जिङ नेसन्स कपमा एकदिवसिय टिममा परेपछि आशिफ प्रारम्भिक टिममा पर्ने गरे पनि अन्तिम टिममा भने फालिने गरेका थिए।
एकदिवसीय मान्यता जोगाउन अब एक खेल जिते पुग्ने
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पिएनजीलाई ५२ रनले हराएसँगै नेपालको एकदिवसीयता मान्यता लिग-२ बाटै यथावत हुने सम्भावना बलियो भएको छ। अब नेपालले बाँकी रहेका तीन खेल मध्ये एक खेल जिते एकदिवसीय मान्यता जोगिनेछ।
बिहीबार नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा २४५ रनमा अलआउट भयो।
पिएनजीका लागि ओपनर टोनी उराले अर्धशतक प्रहार गरे। उनले ४४ बलमा ५० रन जोडे। अर्का ओपनिङ ब्याट्सम्यान किप्लिन डोरिगाले २६ रन जोडे। दुईबीच पहिलो विकेटका लागि ११.२ ओभरमा ७७ रनको साझेदारी भएको थियो।
यस्तै नोर्मान भानुआले पनि अर्धशतक प्रहार गरे। उनी ६० रनमा रनआउट भए।
ओपनर किप्लिनलाई दिपेन्द्रसिंह ऐरीले रनआउट गरेपछि नेपालले पहिलो सफलता हात पारेको थियो। कप्तान असद भालाले ५३ रनमा ४२ रन जोडे। उनलाई कुशल मल्लले आरिफ शेखबाट क्याच गराएका थिए। यस्तै चार्ल्स अमिनीलाई दिपेन्द्रले १४ रनमा बोल्ड गरे।
हिरी हिरीलाई ८ रन र चाड सोपरलाई शून्यमा सन्दीप लामिछानेले ३३ ओभरको दोस्रो र तेस्रो बलमा लगातार आउट गरेका थिए। यस्तै उनले रिली हेकुरेलाई २० रनमा आउट गरे।
बलिङमा नेपालका सन्दीप लामिछानले ४ विकेट लिए। उनले १० ओभरमा १ मेडन ओभर फ्याँक्दा ३७ रन खर्चिए।
यस्तै दिपेन्द्रसिंह ऐरीले २ विकेट हात पार्दा कुशल मल्लले १ विकेट लिए। नेपालले पिएनजीका दुई खेलाडीलाई रनआउट गरे।
त्यसअघि टस जितेको पिएनजीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ५ बल खेल्न बाँकी छदा २९७ रनमा अलआउट भयो।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो। यसअघि नेपालको उच्च स्कोर २८७ रन थियो। नेपालले फागुन पहिलो साता त्रिवि मैदानमै नामिबियाविरुद्ध २८७ रन जोडेको थियो। २ विकेटको जित हात पारेको नेपालले लक्ष्य पछ्याउने क्रममा सो रन बनाएको थियो।
नेपालका लागि ओपनिङ ब्याट्सम्यान आशिफ शेखले शतक प्रहार गरे। उनले ११० रन बनाउने क्रममा १२ चौका र २ छक्का प्रहार गरे। उनको यो पहिलो एकदिवसीय शतक हो।
खेलमा नेपालले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि ११० को साझेदारी गर्यो। नेपालले ओपनर कुशल भुर्तेललाई १८.४ ओभरमा गुमायो। ४५ रनमा आउट भएका कुशलले ५६ बल खेलेर ६ चौका हिर्काए।
नेपालले बाँकी ३० रन बनाउदा थप दुई विकेट गुमायो। कुशल मल्ल २१ ओभरको अन्तिम बलमा २ रनमै आउट हुँदा ज्ञानेन्द्र मल्ल २५ ओभरको अन्तिम बलमा ११ रन बनाएर आउट भए।
कप्तान रोहित पौडेलले ३० रन जोड्दा दिपेन्द्रसिंह ऐरीले ७ रनको योगदान दिए। आरिफ शेख १३ बलमा १५ रन बनाएर आउट भए। करण केसी ६ बलमा ८ रन जोडेर आउट भए भने सन्दीप लामिछानेले ७ रन बनाए।
भीम सार्की ३८ बलमा ४४ रन बनाए भने सोमपाल कामी ४ रनमा नटआउट रहे।
बलिङमा पिएनजीका सेमो कामियाले ५ विकेट लिए। उनले ९.१ ओभरमा ३८ रन खर्चिए।
नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तित सिरिज हो। यो सिरिज नेपालका लागि दुई अर्थमा महत्वपूर्ण सावित हुनेछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका चार मध्ये पहिलो खेल जितेसँगै अब एक जिते नेपालको लिग-२ बाटै एकदिवसीय मान्यता जोगिनेछ। बाँकी तीनै खेलमा हात पारे नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।
सिरिजमा नेपालले अब फागुन २८ मा युएई, फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ।
लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।
लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ।
पाँचौ स्थानको नेपालले ३३ खेलबाट ३४ अंक जोडेको छ। युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ। पुछारको पिएनजीको ३३ खेलबाट ९ अंक छ।