आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक अन्तिम ओडिआई सिरिज काठमाडौंमा चलिरहेको छ। सिरिज अन्तर्गत दोस्रो खेलमा आज युएई र पपुवा न्युगिनी भिड्दैछन्।
टियु क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गर्दै पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएका छन्।
३२ खेलमा ३१ अंक भएको युएईका लागि शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन बाँकी ४ मध्ये तीन खेल जित्नुपर्ने हुन्छ। शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न भने बाँकी सबै खेलमा विशाल जित निकाल्दै रनरेटमा नामिबियालाई पछि पार्नुपर्ने हुन्छ।
तालिकाको पुछारमा रहेको पिएनजी भने शीर्ष पाँच दौडबाट बाहिरिएको छ।
पहिलो खेलमा नेपालसँग ४२ रनले पराजित भएको पिएनजी दोस्रो खेलमा आज युएईलाई हराउँदै काठमाडौंमा अंक जोड्न चाहन्छ। यसै साता युएईलाई भएको खेलमा पनि पपुवा न्युगिनीले घरेलु टोलीमाथि दुवै खेलमा जित निकालेको थियो।
लिगमा सबै खेल खेलिसकेको स्कटल्यान्डले ३६ खेलबाट २४ जित र १० मा हारका साथ ५० अंकका साथ च्याम्पियन भइसकेको छ।
यस्तै ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंक जोडेको ओमान दोस्रो स्थानसहित लिग अन्त्य गरेको छ। नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ।
अमेरिकाले पनि सबै ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ। नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ। युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ। पपुवान्युगिनी ३३ खेलमा ४ मा जित र २८ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ।