घरेलु टोली भारत अस्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेष्टमा एक सय ९१ रनले पछि परेको छ।
अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा पहिलो इनिङको तेस्रो दिनको समाप्तीमा भारतले तीन विकेट गुमाउँदै २ सय ८९ रन बनाएर खेलिरहेको छ।
३६-० को अवस्थाबाट तेस्रो दिनको सुरूआत गरेको भारतले थप दुई सय ५३ रन बनाउँदा तीन विकेट गुमायो।
भारतले यही स्थितीबाट आज तेस्रो दिनको सुरुआत गर्नेछ।
अहिले भारतका लागि विराट कोहली ५९ तथा रवीन्द्र जडेजा १६ रनमा अविजित छन्।
त्यसअघि युवा ब्याटर युवा शुभमन गिलले सतकीय पारी खेले। ओपनर गिलले २ सय ३५ बलमा १२ चौका र १ छक्कासहित १ सय २८ रनको शतकीय इनिङ खेले। गिलको यो टेस्ट करिअरको दोस्रो शतक हो।
दोस्रो विकेटका लागि चेतेश्वर पुजारासँग गिलले १ सय १३ रनको शतकीय साझेदारी गरेका थिए। पुजारा १ सय २१ बलमा ३ चौकासहित ४२ रनमा आउट भए।
त्यसअघि ओपनर रोहित शर्मा ३५ रनमा आउट हुँदै गिलसँग पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए।
अष्ट्रेलियाका नाथन लायन, टोड मर्फी र म्याथ्यु कुहनेमानले एक एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ राजेको अस्ट्रेलियाले पहिलो इनिङमा सबै विकेट गुमाउँदै ४ सय ८० रन बनाएको थियो ।
उसका लागि उस्मान ख्वाजाले ४ सय २२ बलमा २१ चौका मद्दतमा एक सय ८० रन बनाए। यसैगरी क्यारोन ग्रिनले १ सय ७० बलमा बलमा १८ चौकाको मद्दतमा १ सय १४, टोड मर्फीले ४१, कप्तान स्टिभ स्मिथले ३८, नाथन लायनले ३४, ट्राभिस हेडले ३२ र पिटर ह्यान्ड्सकोम्बले १७ रन जोडेका थिए।
भारतका लागि रवीचन्द्रन आश्विनले सर्वाधिक ६ विकेट लिए। मोहम्मद सामीले दुई तथा रवीन्द्र जडेजा र अक्षर पटेलले समान एक विकेट हात पारे।
अस्ट्रेलिया भारतलाई हराउँदै शृंखला बराबरी गर्ने सोचमा हुँदा भारतले अस्ट्रेलियालई हराउँदै च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ।
अष्ट्रेलिया आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा पुगिसकेको छ। भारतलाई भने फाइनल खेल खेल्न यो खेलमा जित आवश्यक पर्छ।
भारत पहिलो टेस्टमा १ इनिङ र १ सय ३२ रन तथा दोस्रो टेस्टमा ६ विकेटले विजयी हुँदा तेस्रो टेस्टमा अस्ट्रेलियासँग नौ विकेटको पराजित भएको थियो।