इङ्ल्यान्डमाथि लगातार दोस्रो जित निकाल्दै घरेलु टोली बंगलादेशले ३ खेलको सिरिज २-० ले जितेको छ।
आइतबार शेर बंगला नेशनल स्टेडियम मिरपुरमा सम्पन्न दोस्रो खेलमा इङ्ल्याण्डलाई चार विकेटले हराउँदै बंगलादेशले एक खेल अगावै टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज आफ्नो पक्षमा पारेको हो।
पहिले ब्याटिङ गर्दै इङ्ल्यान्डले दिएको ११८ रनको लक्ष्य बंगलादेशले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
बंगलादेशका लागि नजमुल हुसेन सान्तोले ४७ बलमा तीन चौकाको मद्दतले अविजित ४६ रन जोडे। यस्तै मेहदी हसनले २० र तौहिद हृदयले १६ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
इङ्ल्यान्डका लागि जोफ्रा आर्चरले सर्वाधिक तीन विकेट लिए। साम करन, मोइन अली र रहिम अहमदले १-१ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो।
उसका लागि बेन डुकेटले सर्वाधिक २८ रन बनाए। यस्तै फिल साल्टले २५, मोइन अलीले १५, साम करनले १२ र रहिम अहमदले ११ रन जोडे। अन्य कुनै पनिस ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बंगलादेशका लागि मेहदी हसनले सर्वाधिक चार विकेट लिए। तस्किन अहमद, मुस्ताफिजुर रहिम, साकिब अल हसन र हसन महम्मदले समान एक-एक विकेट हात पारे।
सिरिजको पहिलो खेलमा बंगलादेश ६ विकेटले विजयी भएको थियो।
सिरिजको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ।