आइसिसी विश्वकप लिग-२ मा नेपालले आफ्नो उत्कृष्ट लयलाई कायमै राखेको छ।
नेपाली बलर र ब्याटरले उत्कृष्ट खेल देखाउदा नेपालले पछिल्ला ११ मध्ये १० एकदिवसीय खेलमा जित निकालेको छ।
आइसिसी विश्वकप लिग-२ को अन्तिम त्रिकोणात्मक सिरिज खेलिरहेको नेपालले एकदिवसीय मान्यता जोगाइसकेको छ। यस्तै नेपाल जिम्बावेमा हुने विश्वकप छनोटको नजिक छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई हराए नेपाल विश्वकप छनोटमा पुग्नेछ।
यो महिना आफ्नो दशौं एकदिवसीय खेल जित्ने क्रममा नेपालले सोमबार पिएनजीमाथि ९ विकेटको जित हात पार्यो।
सन्दीप लामिछानेले पाँच विकेट लिएपछि पहिले ब्याटिङ गरेको पिएनजी ३२ ओभरमा ९५ रनमै अलआउट भयो।
जवाफी ब्याटिङ गरेको नेपालले ७.४ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो।
नेपालको जितमा ओपनिङ ब्याट्सम्यान आशिफ शेखले कीर्तिमानी अर्धशतक प्रहार गरे। नटआउट ५३ रन प्रहार गरेका आशिफले २१ बलमा अर्धशतक प्रहार गरे। उनले २१ बलमा ८ चौका र ३ छक्का हिर्काए।
यो नेपाली ब्याटरले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा प्रहार गरेको अहिलेसम्मकै छिटो अर्धशतक हो।
यसअघि छिटो अर्धशतक बनाउने कीर्तिमान सोमपाल कामीको नाममा थियो। उनले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध आम्स्टर्डममा ३८ बलमा अर्धशतक पूरा गरेका थिए।
नेपाललाई जितका लागि २ रन र आशिफलाई अर्धशतक प्रहार गर्न ३ रन चाहिएको अवस्थामा आशिफले आठौं ओभरको चौथो बलमा छक्का प्रहार गरेका थिए। जससँगै उनले अर्धशतक पूरा गर्दा नेपालले सानदार जित हात पार्यो।
नेपालका लागि छिटो अर्धशतक प्रहार गरेका आशिफको यो समग्रमा आठौं अर्धशतक हो। उनले एक शतक समेत प्रहार गरेक छन्।