आइसिसी विश्वकप लिग-२ अन्तर्तग आफ्नो अन्तिम खेलमा पिएनजी पराजित भएको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा पिएनजीलाई युएईले ६ विकेटले पराजित गरेको हो।
पिएनजीले दिएको २३५ रनको लक्ष्य युएईले ४ विकेटको क्षतिमा ३८.४ ओभरमा पूरा गर्यो।
युएईको जितमा कप्तान मोहमद वासीमले शतक प्रहार गरे। उनले ७६ बलमा ११९ रन जोडे। वृत्य अरिवन्दले ३३ रन जोडेका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको पिएनजी ७ विकेटको क्षतिमा २३४ रन जोड्यो।
उसका लागि कप्तान असद भालाले ६५ रन जोड्दा नोर्भान भानुआले नटआउट ४९ रन जोडे। बलिङमा युएईका हजरात विलालले ४ विकेट लिए।
अब लिग-२ को यो अन्तिम सिरिजको अन्तिम खेल भोलि हुनेछ। भोलि कीर्तिपुर मैदानमा नेपालले युएईसँग खेल्नेछ। जित हात पारे नेपाल विश्वकप छनोटमा पुग्नेछ।
लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।
लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ। चौथो स्थानमा रहेको नेपालले ३५ खेलबाट ३८ अंक जोडेको छ। अन्तिम खेल जिते नेपालले नामिबियालाई पछि पार्नेछ।
पाँचौ स्थानको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ। युएई ३५ खेलबाट ३३ अंक जोड्दै छैटौं स्थानमा छ। लिग-२ को अंक तालिकाको पुछारमा रहेको पिएनजीले सबै खेल खेलिसक्दा ३६ खेलबाट ११ अंक जोड्यो।