आईसीसी विश्वकप क्रिकेट लिग टुको अन्तिम खेलमा आज नेपालले युएईको सामना गर्दैछ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेबाट सुरू हुने खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ।
युएईविरुद्ध जित निकाले मात्र नेपाल लिग टुको शीर्ष तीनमा रहँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउने छ। त्यसैले नेपालको अन्तिम लक्ष्य जित नै हुनेछ। नतिजा युएईको पक्षमा गए नेपाल चौथो स्थानमा यथावत रहँदै नामिबियामा हुने प्लेअफका लागि जानुपर्नेछ।
अन्तिम खेल खेल्नु अघि नेपालको ३८ अंक छ भने नामिबियाले ३६ खेलमा ३९ अंक बनाएको छ। यदि खेलमा वर्षा बाधक बनेमा वा एक - एक अंक बाँड्ने अवस्था आए नामिबियानै क्वालिफायर्स खेल्ने भाग्यमानी बन्नेछ। जारी सिरिजमा अपराजित नेपाल आज पनि सोही लय कायम राख्ने योजनामा रहेको छ। तर युएईलाई नेपालले कम आँक्न मिल्दैन।
युएईले अघिल्लो खेलमा पपुवा न्युगिनीलाई ६ विकेटले हराउँदै सिरिजमा कमब्याक गरेको थियो । जारी सिरिजमा यी दुईबीच भेट हुँदा नेपालले एक सय ७७ रनको कीर्तिमानी रनअन्तरको जित हात पारेको थियो।
लिग टुमा शीर्ष स्थानमा रहेको स्कटल्यान्ड र दोस्रो स्थान सुरक्षित गरेको ओमान भने विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुगिसकेका छन्।