आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो।
यो ओडिआईमा नेपालविरुद्ध कुनै पनि विपक्षी टोलीले दिएको हालसम्मकै उच्च योगफल हो। यसअघि २०२२ मा पपुवा न्युगिनीले नेपालविरुद्ध यही मैदानमा ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाएको थियो।
त्यसपछि लिग-२ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो।
युएईका आशिफ खानले कीर्तिमानी शतक प्रहार गरे। ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बल खेलेर १०१ रनमा नटआउट रहे।
त्यस्तै यूएईका लागि वृत्य अरविन्दले ९४ रन बनाए। १३८ बल खेलेका उनले २ छक्का र ८ चौका प्रहार गर्दै शतक पुर्याउन ६ रनले चुके।
सोमपाल कामीको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच हुनुअद्धि छैटौं विकेटका लागि वृत्य र आसिफले १ सय ३५ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए।
यसअघि कप्तान मोहम्मद वासिमले आक्रमक ब्याटिङ गर्दै अर्धसतक बनाएर आउट भए। ४९ बल खेलेका उनले सन्दीप लामिछानेको बलमा एलबिडब्लुको धरापमा पर्नुअघि २ चौका र ६ छक्कासहित ६३ रन बनाए।
पहिलो पावरप्लेमा १ विकेट गुमाएर ६१ रन बनाएको युएईले १६.५ ओभरमा १०० रन पूरा गरेको थियो।
३४ ओभरमा ४ विकेट गुमाएर १५० रन पूरा गरेको युएईले ४३ ओभरमा ५ विकेट गुमाएर २०० रन कटाएको थियो। अन्तिम ७ ओभरमा युएईले १ विकेट गुमाएर १०६ रन बनायो।
रोहन मुस्तफाले ३२ बलमा २० रन बनाएर आउट भए। दीपेन्द्र सिंह ऐरीको बलमा एलबिडब्लुको धरापमा पर्नुअघि उनले ३ चौका प्रहार गरे।
पूर्व कप्तान सिपी रिजवान ७ रनमा आउट हुँदा ओपनर आर्यन लक्रा ६ तथा आयन अफजाल खान ३ रनमा आउट भए।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए। ललितनारायण राजबंशी, सोमपाल कामी र सन्दीप लामिछानेले १-१ विकेट हात पार्दा युएईले १ विकेट रन आउटका रूपमा गुमाएको थियो।