नेपालले युएईलाई ९ रनले पराजित गरेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको आइसिसी अन्तर्राष्ट्रिय क्रिकेट लिग-२ युएईबीचको खेलमा नेपालले युएईलाई ९ रनले पराजित गरेको हो। यो जितसँगै नेपाल जिम्बावेमा हुने वर्ल्डकप क्वालिफायर खेल्न पाउने भएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको थियो। उक्त लक्ष्य पछ्याइरहेको नेपालले ६ विकेट गुमाएर ४४ ओभरमा २६९ रन बनाएको थियो।
त्यसैबीच खेल्न नमिल्ने गरी अँध्यारोका भएकोले 'डिएल मेथड'मा गएको थियो। उक्त मेथडअनुसार नेपालले युएईलाई पराजित गरेको हो।
युएई ब्याटिङमा हुँदा ४४ ओभरमा ५ विकेटको क्षतिमा २०८ रन बनाएको थियो। यता नेपालको ब्याटिङमा भने ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाएको हो।
नेपालले ४२ ओभरमा २० रन जोड्दा उल्टिएको खेल
आइसिसी विश्वकप लिग-२ अन्तर्गत बिहीबार कीर्तिपुर मैदानमा युएईले दिएको कीर्तिमानी ३११ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४१ ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा २३५ रन जोडेको थियो।
ब्याटिङमा गुलशन झा २५ रन र दिपेन्द्रसिंह ऐरी ४ रन बनाएर खेलिरहेका थिए। हजारौं दर्शक ओइरिएको त्रिवि मैदानमा त्यति बेला बादल लागेका कारण धुम्म भएको थियो।
विश्वकप छनोटमा पुग्न जित्नै पर्ने खेलमा नेपाल डिएल मेथडमा पनि पछि परेको थियो। त्यसैले नेपालका लगि जतिसक्दो छिटो रन बनाउनु पर्ने अवस्था थियो। त्यति बेला युएईका कप्तान मोहमद वासिम बलिङमा आए। आफ्नो ओभर बलिङ गरेका वासिमविरूद्ध गुलशनले पहिलो बलमा रन लिएनन्। दोस्रो बलमा दुई रन लिएका गुलशन त्यसपछि भने आक्रामक रूपमा प्रस्तुत भए।
उनले तेस्रो बलमा छक्का प्रहार गरे। चौथो, पाँचौं र छैटौं बलमा चौका प्रहार गर्दा नेपालले एकै ओभरमा २० रन जोड्न सफल भयो। २० रन जोडेसँगै नेपाललाई राहत मिल्दा डिएल मेथडमा अघि परेको थियो। तर युएईका लागि महँगो सावित भयो। किनभने दुई ओभरपछि अँध्यारो भएकाले खेल रोकियो।
४३ ओभरमा ६ रन र ४४ ओभरमा ८ रन जोड्दा नेपालले ६ विकेटको क्षतिमा २६९ रन जोडेको थियो। त्यति बेला त्रिवि मैदानमा खेल्न पुग्ने प्रकाश नहुँदा अम्पायरले खेल रोके। जसको फाइदा नेपाललाई भयो। खेल नेपालले डिएल मेथडमा ९ रनले जित्यो।