कीर्तिपुरको टियु मैदानमा हल्का हल्का पानीको छिटा पर्दै थियो, खेल चलिरहेको थियो। ४४ औं ओभरको खेल सकिएको थियो। ४५ औं ओभर कस्ले गर्ने भनेर युएईका खेलाडीहरू सल्लाह गर्दै थिए,त्यही बीचमा दुई एम्पाएर केही सल्लाह गरे अनि फर्किएर दुबैतिरका स्टम्प माथिको बेल झारिदिए। बाहिर रहेका खेलाडीहरू दौडिँदै मैदानभित्र प्रवेश गरे। टियु मैदान जुरूक्कै उठ्यो,पन्चेबाजा घन्कियो र नेपालले ऐतिहासिक जित हासिल गर्यो।
चैत २ गते नेपाली क्रिकेट इतिहासको एक महत्वपूर्ण दिन थियो। बिहान ७ नबज्दै टियु मैदान वरिपरि चहलपहल सुरू भएको थियो। चहलपहल यस्तो थियो कि लाग्दै थियो हामी विश्वकप खेल्दै थियौं।
वर्ल्ड क्रिकेट लिग दुईको अन्तिम खेल थियो। अन्तिम खेल नेपालको लागि फाइनल जस्तै थियो। युएईलाई हराउँदै नेपाल विश्वकप छनोट खेलको लागि जिम्बावेको टिकट काट्ने लक्ष्यमा थियो। त्यसैले पनि उत्साह धेरै थियो। दर्शकहरूले टियु मैदान खचाखच भरिएको थियो,त्यति मात्र नभएर मैदान बाहिरबाट पनि हजारौं समर्थकहरूले खेल हेरिरहेका थिए। मैदान बाहिरका रूखहरू पनि दर्शकले नै भरिएका थिए।
युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिएको थियो। युएईले पूरै ५० ओभर खेलेर ३१० रनको उच्च योगफल बनायो। टार्गेट ठूलो भएकोले दर्शकमाझमा थोरै डर,धेरै आशासहित नेपालको ब्याटिङ हेर्न दर्शकहरू उत्साहित नै थिए। नेपालको दोस्रो बलमै विकेट गएपछि केही निराशा छायो,ओपनर आशिफसहित कुशल,रोहितको लगातार जसो विकेट गएपछि दर्शकमा सन्नाटा छायो।
नेपालको ७ ओभरमा ३८ रन ३ विकेटको खराब स्थितिमा थियो तर आशा भने मरिसकेको थिएन। त्यसपछि भिम सार्की र कुशल भुर्तेलले टिमलाई केही सम्हाल्ने प्रयास गरेका थिए। कुशल पनि १७ औं ओभरमा ५० रन बनाएर पेभेलियन फर्किएपछि नेपाली टिम थप संकटमा पर्यो। त्यसपछि नेपाली इनिङलाई आरिफ शेख र भिम सार्की मिलेर उकास्ने काम गरे।
आरिफ र भिमले सुझबुझपूर्ण ब्याटिङ गर्दै खेललाई ३० औं ओभरसम्म लगे र ३१ औं ओभरको अन्तिम बलमा भिम सार्की एल बि डब्लु आउट हुँदै ६७ रनको महत्वपूर्ण योगदान दिएर पेभेलियन फर्किए।
त्यसपछि देब्रे हाते ब्याट्सम्यान गुल्सन झालाई सातौं नम्बरमा ब्याटिङ गर्न पठाइएको थियो।
३८ औं ओभरपछि टियु मैदानको आकाशमा कालो बादल मडारिएर हल्का हल्का पानीको छिटा पर्न थालेको थियो। त्यसपछि युएईले खेललाई ढिला गर्ने रणनीति बुन्यो र उसले निकै ढिला गरी बलिङ गरिरहेको थियो। त्यो समयमा 'डकवर्थ लुइस' मेथड अनुसार युएई नै अगाडि थियो। पानी पर्न सक्ने र खेल नहुने अवस्थालाई आकलन गरेर युएईले मैदानमा केही अस्वाभाविक गतिविधिहरू देखाइरहेको थियो जुन सजिलै बुझ्न सकिन्थ्यो।
युएईले खेल ढिला गरिरहँदा नेपालको डग आउटबाट सन्देश लिएर करण/ज्ञानेन्द्र/प्रतिश निरन्तर मैदानमा गइरहेका थिए।
खेल 'डकवर्थ लुइस मेथड'मा जान सक्ने भन्दै कुनै ओभरलाई अलि ठूलो बनाउन मोन्टी देशाईले निरन्तर आरिफ र गुल्सनलाई सन्देश पठाइरहेका थिए। त्यसैअनुसार आरिफले ठूलो सर्ट खेल्ने चक्करमा ४० औं ओभरको पहिलो बलमा क्याच आउट हुन पुगे।
उनले ५२ रनको महत्वपूर्ण योगदान दिए र फेरि पनि पर्दा पछाडिको हिरो हुन पुगे। त्यसपश्चात दीपेन्द्र मैदान प्रवेश गरे।
युएईले खेल ढिला गर्ने गतिविधि रोकिएको थिएन यसले गर्दा नेपाली दर्शकहरू पनि असन्तुष्ट देखिन्थे एम्पाएरले निरन्तर घडी हेर्दै युएईका खेलाडीहरूलाई सम्झाइरहेका थिए। नेपाली डग आउट बाट पनि निरन्तर सन्देश प्रवाह भैरहेको थियो।
नेपाली डग आउटबाट आएको सन्देशलाई गुल्सन झाले खेलको ४२ औं ओभरमा प्रयोग गरे र त्यही ओभर नै नेपालको जितको आधार बन्यो। कप्तान महोमद वासिमको त्यो ओभरमा गुल्सनले १ छक्का र ३ चौकाको मद्दतमा २० रन जोड्न सफल भए। त्यसपश्चात् नेपाल 'डकवर्थ लुइस' मेथडमा पनि अगाडि आयो।
अब नेपाल पूरै ओभर खेले पनि जित्ने जस्तो स्थिति भैसकेको थियो। ४४ औं ओभर सकिँदा नेपालले २६९ रन बनाएको थियो र ४ विकेट हातमा थियो।
अब नेपाललाई ३६ बलमा ४२ रन आवश्यक थियो। ४५ औं ओभर गर्न पनि युएईले ढिला गरिरहेको थियो, टियु मैदानमा साँझ परिसकेको थियो प्रकाशको कारणले बिस्तारै खेल्न असहज हुँदै थियो।
त्यही बीचमा २ एम्पाएर केही सल्लाह गरे अनि फर्किएर दुबैतिरका स्टम्प माथिको बेल झारिदिए खराब प्रकाशको कारण खेल सकिएको घोषणा गरे।
नेपालले 'डकवर्थ लुइस' मेथड अनुसार ९ रनले जित्यो र युएईले जुन रणनीतिले खेल ढिला गरेको थियो त्यसमा आफैं फस्यो र नेपालले वर्ल्ड कप क्वालिफाएरको लागि जिम्बावेको लागि टिकट पक्का गर्यो। नेपालले लिग २ को अन्तिम खेल खेल्दै गर्दा क्रिकेटको उत्साह फेरि फर्किएको थियो।
बीचमा मैदान बाहिर र भित्रका विभिन्न कारणले गर्दा क्रिकेटसँग टुट्दै गएको नेपाली समर्थकको सम्बन्ध लिग २ को नेपाल र युएईमा भएको अन्तिम ३ सिरिजले जोड्ने प्रयास गर्यो।
प्रशिक्षक मोन्टी देशाई आएपछि खेलाडीहरूको एकतामा जोड दिए। ह्याप्पी ड्रेसिङ रूमको अवधारणा पूर्ण रूपमा सफल रह्यो। खेलाडीहरूले पनि टिमको वातावरण राम्रो भएको प्रतिक्रिया दिइराखे। पहिलाको जुन टिम स्पिरिट थियो त्यो पुन: फर्कियो।
बीचमा अल्मलिएको नेपाली क्रिकेटले फेरि गति लियो। मैले २ महिना पहिलेको लेखमा पहिलाको त्यो उत्साह फर्किएला कि नफर्किएला, समर्थकको क्रिकेट सँगको सम्बन्ध फेरि जोडिएला कि नजोडिएला भनेर लेखेको थिएँ।
नेपाली क्रिकेटसँग 'ब्रेकअप' आज फेरि पहिलाको जस्तो त्यो उत्साह अनि खुसी फर्किएको छ।
फेरि एकपटक टियु मैदान दर्शकले भरियो। धेरै महिनादेखि उजाड टियुका रूखहरूमा फेरि दर्शकको माया फल्यो।
नेपालको जितमा खुसीको आँसु बग्यो। खेल हेर्न आउने अधिकांश दर्शकले बीचमा नेपालको क्रिकेट नै हेर्न छाडेको प्रतिक्रिया दिएका थिए तर फेरि नेपालमा क्रिकेटको माहोल फर्किएको छ। जुन अत्यन्तै राम्रो कुरा हो।
यो माहोल पुन: फर्काएकोमा सबै खेलाडीहरू विशेष गरी कप्तान रोहित पौडेललाई धन्यवाद। असम्भवलाई सम्भवमा परिणत गरिदिएकोमा प्रशिक्षक मोन्टी देशाईलाई विशेष धन्यवाद। टिममा एकता विश्वास र सकारात्मक वातावरण भयो भने हामी जुन सुकै खेल पनि जित्न सक्छौं भन्ने अहिले देखिएको छ।
अब यो एकता सधैं कायम रहोस्,यो स्पिरिट अझ सशक्त बनोस्,नेपाली क्रिकेट र समर्थकको सम्बन्ध अब कहिल्यै नटुटोस्।