रुपन्देही सुपर लिगको उपाधि बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब बुटवलले जितेको छ।
शनिबार भैरहवामा सम्पन्न फाइनल खेलमा लुम्बिनी खुकुरी क्लबमाथि ५२ रनको जित निकाल्दै वेष्टर्नले उपाधि जितेको हो।
उपाधिसँगै वेष्टर्नले १ लाख रुपैयाँ र ट्रफी हात पार्यो भने उपबिजेता बनेको लुम्बिनी खुकुरीले ५० हजार र ट्रफी प्राप्त गर्यो।
भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ रोजेको वेष्टर्नले मौसमका कारण ३६ ओभरमा झारिएको खेलमा २२ दशमलव ३ ओभरमा खेल्दै सबै विकेट गुमाएर जम्मा ९४ रनको झिनो योगफल बनाएको थियो।
उसका लागि अनिलकुमार शाहले २६, अनिल खरेलले २४ र देव खनालले २३ रन बनाए।
बलिङमा लुम्बिनी खुकुरीका साहव आलमले ५ दशमलव ३ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ६ विकेट लिए। यस्तै, इकलाख वारिसले १ विकेट लिए।
प्रतिउत्तरमा ९५ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी खुकुरी २० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५२ रनमै समेटियो। खुकुरीका कुनै पनि खेलाडीले दोहोरो रन जोड्न नसक्दा टिमले सामान्य लक्ष्य समेत भेट्टाउन सकेन।
खुकुरीका इकलाख वारिस र संदीप रजालीले ८–८ रन बनाए भने प्रज्वल थापाले ७ रन मात्रै जोडे। लुम्बिनी खुकुरीलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नका बिष्णु पाण्डेले ४ दशमलव १ ओभरमा १० रन खर्चिंदै सर्वाधिक ५ विकेट लिए। उनी म्यान अफ द फाइनल घोषित भए।
यस्तै अनिल खरेल र अभिशेक गौतमले समान २–२ तथा देव खनालले १ विकेट लिए।
प्रतियोगितामा वेष्टर्नका अनिलकुमार साह म्यान अफ द सिरिज भए।
लुम्बिनी खुकुरीका प्रज्वल थापा बेष्ट ब्याटर र इकलाख वारिस बेष्ट बलर बने भने बुटवल राइनोजका सुन्दर आले उदयीमान खेलाडी घोषित भए। २०५४ सालदेखि रुपन्देही क्रिकेट संघले नियमित आयोजना गर्दै आएको सुपरलिगको यो २२ औं संस्करण हो।
प्रतियोगितामा ए र बी डिभिजनका गरी २० टिमको सहभागिता रहेको थियो।