अस्ट्रेलियाविरूद्धको दोस्रो एकदिवसीय खेलमा घरेलु टिम भारत ११७ रनमै अलआउट भएको छ।
विसाखापटनममा टस हारेर पहिले ब्याटिङ गरेको भारत २६ ओभरमा ११७ रनमा अलआउट भयो। भारतको घरेलु मैदानमा यो चौथो कम योगफल हो।
घरेलु मैदानमा भारतको कम स्कोर ७८ रन हो। भारत सन् १९८६ मा कानपुरमा श्रीलंकासँग ७८ रनमा अलआउट भएको थियो।
समग्रमा भारतको कम स्कोर भने ५४ रन हो। भारत २००० मा शारजाहमा श्रीलंकासँग ५४ रनमा अलआउट भएको थियो।
आइतबार कमजोर ब्याटिङ गरेको भारतका लागि विराट कोहलीले सबैभन्दा बढी ३१ रन जोडे। उनले ३५ बलमा ४ चौका हिर्काए। भारतका सात ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
भारतलाई कम योगफलमा समेट्न अस्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए। उनले ८ ओभरमा १ मेडन फ्याँक्दा ५३ रन दिए। सिन एबटले ३ विकेट लिए भने नाथाल इल्सले २ विकेट हात पारे।
११८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले विना कुनै विकेटको क्षतिमा ११ ओभरमा पार गर्दै १० विकेटको जित हात पारेको छ।
अस्ट्रेलियाका लागि त्रविस हेडले नटआउट ५१ रन र मिचेल मार्सले नटआउट ६६ रन जोडे।
अस्ट्रेलियाको जितसँगै तीन खेलको सिरिजमा १-१ को बराबरी भएको छ। अन्तिम खेल अब बुधबार हुनेछ।