प्रथम रेडमण्ड इन्डो-नेपाल मैत्रीपूर्ण महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लब एण्ड एकाडेमी(बिसिसिए) ले जितेको छ।
३ खेलको प्रतियोगितामा भारतको अल इन्डिया वुमन टी-२० क्रिकेट एसोसिएनलाई सोमबार ४९ रनले पराजित गर्दै घरेलु टोली २-१ ले श्रृंखला जित्न सफल भएको हो।
पहिलो खेलमा भारतलाई ९ विकेटले पराजित गरेको बिसिसिए टोली आइतबार भएको खेलमा ६ विकेटले पराजित भएको थियो। श्रृंखला २-१ ले जितेको टोलीले अब मंगलबार ३० ओभरको एक खेल खेल्नेछ।
नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला क्रिकेटको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको विसिसिएले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ३७ रनको स्कोर बनाएको थियो। घरेलु टोलीका लागि सम्झना खडकाले नटआउट ५५ रन बनाउँदा कविता जोशी पनि ११ रनमा नटआउट रहिन्। त्यस्तै नेपाली राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री ५१ रन बनाएर आउट भइन्। भारतकी कप्तान रितु भोस्ले, रिना रानी र निधि भाग्यसियाले १-१ विकेट लिए।
जवाफमा १ सय ३८ रनको लक्ष्य पछ्याएको भारतीय महिला टोलीले पुरै ओभर खेल्दा ७ विकेट गुमाई ८८ रन मात्रै बनाउन सक्यो। भारतकी अरपिताले नटआउट ३७ रन बनाउँदा निधि भाग्यसियाले नटआउट १७ रन बनाइन्। नेपाली टोलीका लागि कप्तान रुविना क्षेत्री,सवनव राई, कविता जोशी र अस्मिता कर्मचार्यले समान १-१ विकेट लिएका थिए।