इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान आसिफ शेखलाई २०२२ को क्रिस्टोफर मार्टिन्स – जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड दिने भएको छ।
फेब्रुअरी २०२२ मा आयरल्यान्डविरूद्धको देखाएको खेल भावनाको कदर गर्दै अवार्ड प्रदान गर्ने निर्णय गरिएको एमसिसीले सोमबार घोषणा गरेको हो।
यो अवार्ड २०१३ देखि एमसिसी र बिबिसीले एमसिसीका पूर्व अध्यक्ष क्रिस्टोफर मार्टिन्स-जेन्किन्सको सम्झनामा दिन थालेको हो।
यसवर्ष आसिफसँगै इंग्ल्यान्डका जोस बटलर र बेन स्टोक्स मनोनयनमा थिए।
यसअघि आसिफले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड जितेका थिए।
खेल भावनालाई समर्थन गर्ने खेलाडी वा टोलीलाई मान्यता दिन आइसिसीले हरेक वर्ष आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गर्छ।
एक वर्षअघि नै प्रशंसा बटुलेका थिए आसिफले
१४ फेब्रुअरी २०२२ मा ओमानमा भएको टी-२० सिरिजको छैटौं खेलमा नेपाल र आयरल्यान्ड भिड्दै थिए।
ओमानको अल अमेरतमा पहिलो इनिङ्ग्समा नेपालले आयरल्यान्डका ब्याट्सम्यानलाई रनआउट नगरेपछि आसिफको त्यतिबेला नै प्रशंसा भएको थियो।
१९ औं ओभरको दोस्रो बलमा नेपालका कमलसिंह ऐरीले बलिङ गरिरहेका थिए। सो बलमा रन लिने क्रममा ननस्ट्राइकमा रहेका ब्याट्सम्यान एन्डी म्याकब्राइन ऐरीसँग ठोक्किन पुगे।
त्यतिबेलासम्म नेपालका विकेट किपर आसिफ शेखको हातमा बल पुगिसकेको थियो। उनले चाहेको भए म्याकब्राइनलाई आउट गर्न सक्थे। तर आउट गरेनन्। हातमा आएको बललाई भुइँमा झारिदिए।
यो दृष्यलगत्तै कमेन्टेटरले आसिफको खुलेरै प्रशंसा गरेका थिए। कमेन्टेटरले यो दृष्यलाई वर्षको आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड दिनुपर्ने समेत बताएका थिए।
आयरल्यान्डका ब्याट्सम्यानलाई रनआउट नगरेको विषयमा आसिफले ओमानमा रहेका नेपाली पत्रकारहरूसँग कुरा गरेका थिए।
‘ब्याट्सम्यान आफ्नो लाइनमा कुदिरहको थियो। बलर त्यसलाई क्रस गरेर गयो। ब्याट्सम्यानको गल्ती पनि थिएन। बलरलाई गएर ठोक्कियो। त्यसैले गर्दा हामीले आउट गरेनौं,’ हाम्रो खेलकुदसँगको कुराकानीमा आसिफले भनेका थिए, ‘त्यो क्लियरली देखिरहेको थियो। साइडबाट पनि नगर-नगर भनिरहेका थिए। त्यसैले हामीले रनआउट गरेनौं।’
खेलमा नेपालले उत्कृष्ट बलिङ गर्दै टेस्ट टिम आयरल्यान्डलाई १२७ रनमा समेटेको थियो। यद्यपी ब्याटिङ नचल्दा नेपालले आयरल्यान्डलाई हराएर इतिहास रच्ने मौका गुमायो। खेल हारे पनि नेपालले विश्व क्रिकेटको मन भने जित्यो।
क्रिकेटमा यस्ता घटनाको खुलेरै प्रशंसा गर्ने गरिन्छ।
सन् १९८७ को विश्वकपमा वेस्ट इन्डिज र पाकिस्तानबीचको खेलको सधैं चर्चा हुन्छ। सो खेलको अन्तिम बलमा वेस्ट इन्डिजका बलर कोर्टनी वाल्सले मांकड आउट (ननस्ट्राइकमा रहेका ब्याट्सम्यान बलिङ गर्नुअघि नै अघि बढ्दा बलरले गर्ने आउट) गर्न अस्वीकार गरेका थिए।
अन्तिम बलमा वाल्सले आउट गरेका भए खेल वेस्ट इन्डिजले खेल जित्थ्यो र सेमिफाइनलमा स्थान पक्का गर्थ्यो। तर उनले पाकिस्तानका ननस्ट्राइकर ब्याट्सम्यानलाई चेतावनी मात्र दिए, रनआउट गरेनन्।
यो घटना आइसिसीले समेत बेलाबेलामा सम्झिने गरेको छ। २०२० अगस्टमा आइसिसीले सामाजिक सञ्जालमा वाल्सको अन्तर्वार्ता पोस्ट गरेको थियो। अन्तर्वार्तामा उक्त घटनाको विषयमा वाल्सले बोलेका थिए। उनले सो घटनालाई लिएर अहिले पनि मानिसहरूले प्रशंसा गर्दा खुसी लाग्ने बताएका थिए।
ब्याट्सम्यानसँग ठोक्किँदा रनआउट भएको अर्को चर्चित खेल हो, सन् १९९९ मा भारत र पाकिस्तानबीच भएको टेस्ट खेल।
एसियन टेस्ट च्याम्पियनसिपअन्तर्गत भएको उक्त खेल भारतको कोलकतामा भएको थियो। पहिलो इनिङ्ग्समा भारतविरूद्ध पाकिस्तानका तीव्र गतिका बलर शोएब अख्तरले उत्कृष्ट बलिङ गरेका थिए। उनले भारतको पहिलो विकेट लिने क्रममा भिभिएस लक्ष्मणलाई ५ रनमा बोल्ड गरेका थिए।
यस्तै राहुल द्रविडलाई २४ रनमा बोल्ड गर्दै व्यक्तिगत दोस्रो विकेट लिएका थिए। लगत्तै अर्को बलमा उनले सचिन तेन्दुलरलाई शून्यमा बोल्ड गरेका थिए।
२७९ रन पछ्याउँदै दोस्रो इनिङ्ग्स ब्याटिङ गरेको भारतका आसा सचिन रनआउट भएको घटना क्रिकेटप्रेमीले अहिले पनि बिर्सिएका छैनन्।
तीन रन लिने क्रममा सचिन ९ रनमा रनआउट भएका थिए। लाइन क्रस गर्ने क्रममा सचिन अख्तरसँग ठोक्किएका थिए। जसका कारण सचिनले रन पूरा गर्न नपाउँदै पाकिस्तानका नदीम खानले ड्राइरेक्स हिटमार्फत् स्टम्प ढालेका थिए। लगत्तै पाकिस्तानका ब्याट्सम्यानले रनआउटको अपील गरेका थिए। भिडिओमा सचिन आउट भएको देखिएको थियो।
दुई ओभरपछि राहुल द्रविड आउट भएका थिए। त्यसपछि रंगशालामा उपस्थित दर्शक उत्तेजित भएका थिए। रंगशालामा दर्शकले बोलत फ्याँक्न थालेपछि खेल एक घन्टा रोकिएको थियो। फेरि सौरभ गांगुली आउट भएपछि दर्शक झनै क्रोधित बनेका थिए। त्यसपछि रंगशालामा उपस्थित ६५ हजार दर्शकलाई बाहिर निकाल्दै खेल संचालन गरिएको थियो। सो खेल पाकिस्तानले ४६ रनले जितेको थियो।