लुम्बिनीबाट नेपाली राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई लुम्बिनी प्रदेश सरकारले नगद प्रदान गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले ६ जना सिनियर खेलाडीलाई जनही एक लाख र ५ जना जुनियर खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।
खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री एवं प्रवक्ता चेतनारायण आचार्यले सिनियर खेलाडीलाई जनही एक लाख र जुनियर खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय गरिएको बताए।
हालै सम्पन्न विश्वकप क्रिकेट लिग २ सिरिजमा नेपाली सिनियर टोली विजेता बन्दै विश्वकपको क्वालियरमा छनोट भएको थियो।
‘प्रदेशका खेलाडीको हौसला र सम्मानका लागि मुख्यमन्त्री लिला गिरीको प्रस्ताव अनुसार मन्त्रिपरिषद् बैठकले सर्वसम्मत एक लाखका दरले रकम दिने निर्णय भएको हो,’ प्रवक्ता आचार्यले भने, ‘जुनियर टिमका ४ जनालाई पनि ५० हजारका दरले रकम दिने निर्णय भएको छ।'
लुम्बिनी प्रदेशबाट सिनियर क्रिकेट टिममा पश्चिम नवलपरासीबाट कप्तान रोहित पौडेल, रुपन्देहीबाट कुशल मल्ल, कुशल भुर्तेल र मौसम ढकाल, गुल्मीबाट सोमपाल कामी र प्यूठानबाट प्रतिश जीसी छन्।
यस्तै जुनियर टिममा रुपन्देहीका देव खनाल, कपिलवस्तुका आकाश त्रिपाठी र दुर्गेश गुप्ता, बर्दियाका विकास केसी र अर्घाखाँचीका उत्तम थापा गरी ४ जना खेलाडी छन्।