आगामी सेप्टेम्बरमा हुने तय एकदिवसीय एसिया कपअन्तर्गत भारतबाहेकका टिमका मात्र खेल पाकिस्तानमा हुने भएको छ।
क्रिक इन्फोका अनुसार भारत र पाकिस्तान एकअर्काविरुद्ध पाकिस्तान बाहिर खेल्न सहमत भएका छन्।
भारतको खेल हुने स्थानको तय भइसकेको छैन। युएई, ओमान, श्रीलंका र इङ्ल्यान्डमा एक सम्भावित आयोजना स्थल हुन्।
भारत र पाकिस्तानसँगै यस वर्षको एसिया कपमा ६ टिम भिड्दैछन्।
एउटा समूहमा भारत, पाकिस्तान र एसिसी प्रिमियर कप विजेताबीच प्रतिस्पर्धा हुनेछ। एसिसी प्रिमियर कप आगामी महिना नेपालमा हुँदैछ।
नेपालमा हुने एसिसी प्रिमियर कपको खेल तालिका सार्वजनिक, नेपालको समूहमा ओमान
अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। फाइनल सहित १३ दिनमा कुल १३ खेल हुनेछन्।
२०२२ को एसिया कपको ढाँचा अनुसार प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर ४ मा पुग्छन् र शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्छन्। यो ढाँचाअनुसार भारत र पाकिस्तानबीच तीन पटक खेल्ने सम्भावना कायमै छ।
सुरक्षाका कारण देखाउँदै पाकिस्तानमा खेल्न भारतले अनाकानी गरिरहेको थियो।
एसिया कपको केही खेल पाकिस्तान बाहिर आयोजना गर्ने विकल्पका लागि एसियाली क्रिकेट काउन्सिल (एसिसी) का सदस्यहरूले गत साता दुबईमा आइसिसीको त्रैमासिक बोर्ड बैठक हुँदै गर्दा अर्को बैठक गरेका थिए। जहाँ सबैभन्दा अनुकूलको विकल्पमा जान सैद्धान्तिक रूपमा सहमति भएको थियो।
मार्चको मध्यमा बहराइनमा भएको एसिसी बैठकमा निर्णयमा पुग्न असफल भएपछि फेरि दुबईमा दुई चरणको अनौपचारिक छलफल भएको थियो।
एसिया कप २०२३ को संस्करणको आयोजना गर्ने अधिकार भएको पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठी र बीसिसिआइका सचिव जय शाह बैठकमा सहभागी थिए।
गत अक्टोबरमा पाकिस्तान क्रिकेट बोर्डलाई शाहले २०२३ एसिया कप "तटस्थ" स्थानमा आयोजना गर्न आग्रह गरेका थिए। पाकिस्तानका तत्कालिन अध्यक्ष रमिज राजाले भने उक्त प्रस्ताव अस्विकार गर्दै प्रतियोगिता नै नखेल्ने चेतावनी दिएका थिए।
बहराइन र दुबईमा भएको छलफलमा सेठीले त्यहिँ अडान दोहोर्याएका थिए। एसिसी अध्यक्षको हैसियतमा आफूले उक्त अभिव्यक्ति दिएको शाहले बताएका थिए।
यसअघि शाहले एसिया कपका लागि भारतीय टिम पाकिस्तान जान नजाने बताएका थिए। अहिले भारतको मात्र खेल पाकिस्तानमा नगर्ने सहमति भएको हो।