मधेस प्रदेश सरकारले क्रिकेटर आसिफ शेखलाई दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ।
बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लबले यसै साता आसिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश र देशको शिर ऊँचो गरेको भन्दै आसिफलाई सो रकम प्रदान गर्ने घोषणा गरेका हुन्।
हालै सम्पन्न आइसिसी क्रिकेट विश्वकप लिग–२ मा पनि आसिफले उल्लेखनीय प्रदर्शन गरेका थिए।
खेल भावनाको परिचय दिँदै विश्वभरिका क्रिकेट प्रेमीहरूको मन जितेर प्रदेश र देशको प्रतिष्ठा बढाएकोमा उच्च कदर गर्दै प्रदेश सरकारले सम्मानस्वरूप आसिफलाई सो रकम प्रदान गर्न लागेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जनाए।
प्रदेश सरकारले यसअघि आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अन्तिम खेलमा युएईविरूद्ध शानदार प्रदर्शन गरेका मधेस प्रदेशका खेलाडीहरू गुल्सन झा र आरिफ शेखलाई पनि दुई/दुई लाख प्रदान गर्ने घोषणा गरिसकेको छ।