वेस्ट इन्डिजका ब्याट्सम्यान जोन्सन चार्ल्सले सेन्चुरियनमा घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी–२० खेलमा ३९ बलमा शतक प्रहार गरेका छन्।
११८ रनमा मार्को जान्सनको योर्करमा आउट हुनुअघि उनले ४६ बलमा १० चौका र ११ छक्का हिर्काए।
उनको शतकसँगै वेस्ट इन्डिजले १४ ओभरमा ४ विकेटको क्षतिमा १७९ रन जोडेको थियो। ३४ वर्षीय चार्ल्सको यो पहिलो टी-२० शतक हो।
बाँकी ६ ओभरमा ७९ जोडेपछि वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा २५८ रन जोड्न सफल भयो।
टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतकको कीर्तिमान दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश विक्रमसेकराको नाममा छ। उनीहरूले ३५-३५ बलमा शतक प्रहार गरेका थिए।
त्यसपछि दोस्रो छिटो शतक चार्ल्ससँगै रोमानियाका शिवकुमार पेरियाल्वार र हंगेरीका जीशन कुकिखेलको नाममा छ। उनीहरुले ३९ बलमा शतक पूरा गरेका थिए।
आज चार्ल्सको शतक वेस्ट इन्डिजका लागि भने सबैभन्दा छिटो टी-२० शतक हो।
वेस्ट इन्डिजका लागि यसअघिको कीर्तिमान क्रिस गेलको नाममा थियो। गेलले आइसिसी टी–२० विश्वकप २०१६ मा मुम्बईमा इंग्ल्याण्डविरुद्ध ४७ बलमा शतक प्रहार गरेका थिए।