ललितपुर मेयर महिला च्याम्पियनसिपमा मधेशले पहिलो जित हात पारेको छ।
मधेशले सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा ललितपुर मेयर्स-११ लाई १ विकेटले पराजित गर्यो। ललितपुरको भने यो लगातार तेस्रो हार हो।
टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले ५ विकेट गुमाएर ९६ रन जोड्यो। ललितपुरका लागि सोनी पाख्रिनले ३४ रन, लक्ष्मी चौधरीले २३ रन र श्रृष्टि जैसीले १५ रन बनाए।
बलिङमा मधेशकी सरस्वती चौधरीले २ विकेट लिइन्। ९७ रनको लक्ष्य मधेशले ९ विकेट गुमाएर ४ बल खेल्न बाँकी छदा पार गर्यो।
सरस्वती चौधरीले नटआउट ३२ रन जोडेपछि मधेशको जित सम्भव भएको थियो। उनी खेलको प्लेयर अफ दि म्याच भइन्।
यता अर्को खेलमा कोसीले सुदूरपश्चिमलाई ९ विकेटले हरायो।
सुदूरपश्चिमले दिएको ८३ रनको लक्ष्य कोसीले १ विकेटको क्षतिमा १५.३ ओभरमा पूरा गर्यो।
कोसीका लगि काजल श्रेष्ठले नटआउट ४० रन र कप्तान रूबिना क्षेत्रीले २८ रन जोडे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १८.५ ओभरमा ८२ रनमा अलआउट भयो।
सुदूरपश्चिमका लागि कप्तान विन्दू रावलले ३० रन, सम्झना खड्काले १६ रन र ऋतु कनौजियाले १३ रन जोडे।
बाँकी ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। सुदूरपश्चिमका पाँच ब्याटर शून्यमा आउट भएका थिए।
बलिङमा कोसीका रुबिना र अप्सरी बेगमले ३-३ विकेट लिए। प्रतियोगितामा कोसीले दोस्रो जित हात पारेको हो।
सुदूपश्चिमले भने चार मध्ये दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ।