नामिबियामा जारी आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा युएई र क्यानडाले विजयी सुरूआत गरेका छन्।
युएईले पपुवान्युगिनीलाई हराउँदा क्यानडाले जर्सीमाथि रोमाञ्चक जित निकाल्यो।
पपुवा न्युगिनीमाथि जितको साथ युएईले ओडिआई मान्यता सम्भावना मजबुत बनाएको छ। जितको लागि २ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी ४८.३ ओभरमा २ सय ३९ रनमा अल आउट भएको थियो।
पपुवा न्युगिनीका ओपनर किप्लिङ डोरिगा र टोनी उराले पहिलो विकेटका लागि २०.३ ओभरमा १ सय ४६ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै सानदार सुरूआत गरेका थिए। तर मध्यक्रम र तल्लोक्रम चल्न नसक्दा पिएनजी पराजित भयो।
डोरिगाले ७१ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ७३ रन बनाउँदा अर्का ओपनर टोनी उराले ५६ बलमा ६ चौका र १ छक्कासहित ५६ रन जोडेका थिए।
२५.३ ओभरमा १६३-५ को बलियो अवस्थामा रहेको पिएनजीका लागि सेसे बाउ ७, असद भाला १, चाल्स अमिनी १५ र नर्मन भानुवा शून्य, गौडी टोका २० र राइली हेकुरे ११ रनमा आउट भएपछि पराजित हुन बाध्य भयो।
युएईका कार्तिक मयाप्पनले सर्वाधिक ४ विकेट लिए। जाहुर खानले ३ विकेट लिँदा रोहन मुस्तफा, आयन र जुनैद सिद्दिकले समान एक-एक विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६० रन बनाएको थियो।
उसका लागि कप्तान मोहम्मद वासिमले १ सय ६ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ९६ रनको योगदान दिए। यस्तै आयन खानले ९४ बलमा ९ चौका र ३ छक्कासहित ९४ रनको अविजित इनिङ खेल्दै युएईलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए। एक समय २०.४ ओभरमा ८९-५ को अवस्थामा रहेको युएईलाई छैटौं विकेटका लागि आयन र वासिमले ८० रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए।
आयन लाक्राले ६ रन बनाउँदा वृत्य अरविन्द गोल्डेन डक, रमिज शाहजाद ८ र आसिफ खान ६ रनमा आउट भए। सातौं विकेटका लागि आयन खान र कार्तिक मयाप्पनले ९० रनको सानदार साझेदारी गरेका थिए। कार्तिक ३६ बलमा १ चौकासहित २४ रनमा आउट भए।
पपुवा न्युगिनीका चाद सोपरले सर्वाधिक ४ विकेट लिएका थिए। सेमा कमियाले २ विकेट हात पारे। प्रतियोगिता अन्तर्गत अर्को खेलमा क्यानडाले जर्सीलाई ३१ रनले हराउँदै विजयी सुरूआत गरेको छ। जितको लागि २ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको जर्सी ४७.५ ओभरमा २ सय ७ रनमा अल आउट भयो। जर्सीका जोश लरेन्सनले सर्वाधिक ६६ रन बनाएका थिए।
यस्तै निकोलस ग्रीनवुडले ५९ रन बनाउँदा मध्यक्रम र तल्लोक्रमका ब्याटर नचल्दा ओडिआईको डेब्यु खेलमा पराजित भएको हो। आइसिसीले प्लेअफका सबै खेललाई ओडिआई मान्यता दिएपछि जर्सीले डेब्यूको मौका पाएको हो। क्यानडाका कप्तान साद बिन जाफर र जेरेमी गोर्डनले समान ३-३ विकेट लिएका थिए।
निखिल दत्तले १ विकेट हात पारे। त्यसअघि युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडालो निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो। सन् २०१४ पछि ओडिआईमा फर्किएको क्यानडाका लागि विकेटकिपर विजयरत्ने श्रीमन्थाले सर्वाधिक ६३ रन बनाए।
निखिल दत्तले ५६ रन बनाउँदा अन्य ब्याटर सस्तैमा आउट भए। ओपनर आरोन जोनसन ४ र पर्गत सिंह ११, हर्ष थकेर २७ रनमा आउट भए। जर्सीका चाल्र्स पेर्चर्डले सर्वाधिक ३ विकेट लिए। बेन्जामेन वार्ड र जुलिस सुमिराउरले २-२ विकेट लिए। प्रतियोगितामा जर्सी, क्यानडा, अमेरिका, युएई, पपुवा न्युनिगी र नामिबिया छन्। हरेक टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन्।
अमेरिका र नामिबियाले लिग २ बाटनै ओडिआई जोगाउँदा युएई र पपुवा न्युगिनीले लिग-२ मा ओडिआई मान्यता अवसर गुमाएका छन्। अब ओडिआई मान्यता बचाउन युएई र पपुवा न्युगिनी दुबैले जर्सी र क्यानडालाई पछि पार्नुपर्ने हुन्छ।
ओडिआई मान्यताको लागि जर्सी, क्यानडा, युएई र पपुवा न्युगिनीबीचको खेलको नतिजा मात्रै मान्यता हुनेछ। त्यसैले चार टोलीबीचको प्रतिस्पर्धा निकै महत्वपूर्ण हुनेछ।