मंगलबार न्युजिल्यान्डविरुद्धको दोस्रो एकदिवसीय खेल रद्द हुँदा श्रीलंकाले आइसिसी पुरुष क्रिकेट विश्वकप सुपर लिगमा ५ अंक जोडेको छ। तर पनि उसको विश्वकप २०२३ मा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ।
न्युजिल्यान्डमा भएको वर्षा श्रीलंकाका लागि फेरि महँगो साबित भएको हो। वर्षका कारण श्रीलंकाका लागि महत्वपूर्ण मानिएको दोस्रो खेल एक बल पनि नखेली रद्द भयो।
श्रीलंकाको सुपर लिगमा एक खेल मात्र बाँकी छ। शुक्रबार ह्यामिल्टनमा हुने तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा न्युजिल्यान्डलाई हराएमा श्रीलंकाले अंक तालिकाको आठौं स्थानमा रहेको वेस्ट इन्डिजलाई पछि पार्नेछ।
न्युजिल्यान्डलाई हराएर श्रीलंका तालिकाको आठौं स्थानमा उक्लिए पनि दशौं स्थानमा रहेको दक्षिण अफ्रिकाले पछि पार्ने सम्भावना हुन्छ।
किनभने दक्षिण अफ्रिकाको नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय सिरिजका दुई खेल बाँकी छन्। ती दुवै खेलमा जित हासिल गरेमा दक्षिण अफ्रिकाले श्रीलंका र वेस्ट इन्डिज दुवैलाई पछि पार्दै आठौं स्थानमा पुग्ने देखिन्छ।
एघारौं स्थानमा रहेको आयरल्यान्डको पनि मेमा बंगलादेशसँग तीन खेल बाँकी रहेकाले उसको पनि छनोट हुने सम्भावना छ।
सुपर लिगमा सातौं स्थानमा भन्दा तल रहेका वेस्ट इन्डिज, श्रीलंका, दक्षिण अफ्रिका र आयरल्यान्ड मध्ये एक टिम विश्वकपमा सिधा छनोट हुनेछ भने तीन टिमले विश्वकप छनोट खेल्नु पर्नेछ।
जिम्बावेमा हुने विश्वकप छनोटमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ। जहाँ नेपालसहित जिम्बावे, नेदरल्याण्ड्स, स्कटल्यान्ड र ओमानले खेल्ने पक्का भइसकेको छ। छनोटमा प्रतिस्पर्धा गर्ने १० मध्ये बाँकी ५ टिमको टुंगो लाग्न बाँकी छ।