नेपाल एपिएफ क्लब ललितपुर मेयर महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
समूह चरणका चारै खेलमा जित निकाल्दै एपिएफ फाइनलमा पुगेको हो।
समूहको आफ्नो अन्तिम खेलमा जित निकाल्ने क्रममा एपिएफले मंगलबार ललितपुर मेयर्स-११ लाई ३७ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको एपिएफले ६ विकेटको क्षतिमा ११० रन जोड्यो।
एपिएफका लागि कप्तान सीता रानामगरले १९ रन जोड्दा प्लेयर अफ दि म्याच भएकी राजमति ऐरीले ४१ रन जोडिन्।
बलिङमा ललितपुरकी सीमाना केसी र श्रृष्टि जैसीले २-२ विकेट लिए।
१११ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभरमा ८ विकेटको क्षतिमा ७३ रन मात्र जोड्न सक्यो।
उसका लागि सोनी पाख्रिनले १५ रन तथा लक्ष्मी चौधरी र सीमाना केसीले १०-१० रन जोडे।
बलिङमा एपिएफका राजमति ऐरी र बिनु बुढाले २-२ विकेट लिए।
अब उपाधिका लागि एपिएफले कोसीसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। कोसीले मंगलबार भएको समूह चरणको अन्तिम खेलमा मधेसलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो।