घरेलु टोली दक्षिण अफ्रिकाविरूद्धको अन्तर्राष्ट्रिय टी-२० सिरिज वेष्टइन्डिजले जितेको छ।
गएराति भएको तेस्रो तथा निर्णायक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै वेष्टइन्डिजले तीन खेलको शृंखला २-१ ले जितेको हो।
वेष्टइन्डिजले दिएको २२१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन मात्र बनाउन सक्यो। उसका लागि ओपनर रिजा हेन्ड्रिक्सले सर्वाधिक ८३ रन बनाए। ४४ बल खेलेका उनले ११ चौका र २ छक्का प्रहार गरे।
राइली रोसोउले ४२ रन बनाउँदा कप्तान एडेन माक्ररम अभिजित ३५ रन बनाएपनि टोलीलाई हारबाट जोगाउन सकेनन्। दोस्रो खेलमा कीर्तिमानी प्रदर्शन गरेका ओपनर क्विन्टन डिकक २१ रनमा आउट हुँदा डेभिड मिलरले ११ रन बनाएका थिए।
१८ औं ओभरमा घरेलु टोली १८६-३ को बलियो स्थितिमा रहेको बेला १९ औं ओभरमा ३ विकेट गुमाउँदै ९ रन मात्र जोडेपछि जित टाढिएको थियो। वेष्टइन्डिजका लागि अल्जारी जोसेफले सर्वाधिक ५ विकेट लिए। जोसन होल्डरको नाममा एक विकेट रह्यो।
त्यसअघि जोहान्सवर्गमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२० रन बनायो। उसका लागि रोमारियो सेफर्डले सर्वाधिक ४४ रन बनाए। अन्तिम ओभरमा २६ रन बनाएका सेफर्डले २२ बलमा २ चौका र ३ छकका प्रहार गरेका थिए। यस्तै निकोलस पुरनले ४१ रन बनाउँदा ओपनर ब्रान्डम किङले ३६ रन बनाए।
दक्षिण अफ्रिकाका कागिसो रबाडा, लुंगिसानी एनगिडी, अनरिख नार्खिएले समान २-२ विकेट लिए। यसअघि ओपनर क्विन्टन डि ककको विष्फोटक शतकको सहयोगमा दक्षिण अफ्रिकाले दोस्रो टी २० आईमा वेस्टइन्डिजमाथि ६ विकेटको ऐतिहासिक जित निकाल्दै शृंखला बराबरी गरेको थियो।
योसँगै दक्षिण अफ्रिकाले टी २० अन्तर्राष्ट्रिय इतिहासमा सर्वाधिक ठूलो योगफल पूरा गर्ने कीर्तिमान बनाएको थियो। त्यसअघि पहिलो खेलमा वेस्टइन्डिज तीन विकेटले विजयी भएको थियो।