शुक्रबार न्युजिल्यान्डविरुद्धको तेस्रो एकदिवसीय खेलमा ६ विकेटले पराजित भएसँगै श्रीलंका आइसिसी विश्वकप क्रिकेट २०२३ मा सिधा छनोट हुन असफल भएको छ।
विश्वकपको छनोटको रुपमा रहेको आइसिसी विश्वकप सुपर लिगमा सबै खेल खेलिसक्दा नवौं स्थानमा सीमित बनेसँगै श्रीलंका सिधा छनोट हुन असफल भएको छ।
सुपर लिगका शीर्ष आठ टिम भारतमा हुने विश्वकपमा छनोट हुने प्रावधान छ।
अब आठौं स्थानको वेस्ट इन्डिज, दशौं स्थानको दक्षिण अफ्रिका र एघारौं स्थानको आयरल्यान्ड मध्ये एक टिम मात्र विश्वकपमा छनोट हुनेछ।
दशौं स्थानमा रहेको दक्षिण अफ्रिकाको नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय सिरिजका दुई खेल बाँकी छन्। ती दुवै खेलमा जित हासिल गरेमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पछि पार्दै आठौं स्थानमा पुग्नेछ।
एघारौं स्थानमा रहेको आयरल्यान्डको पनि मेमा बंगलादेशसँग तीन खेल बाँकी रहेकाले उसको पनि छनोट हुने सम्भावना छ।
सुपर लिगमा सातौं स्थानमा भन्दा तल रहेका वेस्ट इन्डिज, दक्षिण अफ्रिका र आयरल्यान्ड मध्ये एक टिम विश्वकपमा सिधा छनोट हुनेछ भने तीन टिमले विश्वकप छनोट खेल्नु पर्नेछ।
जिम्बावेमा आगामी जुलाईमा हुने विश्वकप छनोटमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ। जहाँ नेपालसहित श्रीलंका जिम्बावे, नेदरल्याण्ड्स, स्कटल्यान्ड र ओमानले खेल्ने पक्का भइसकेको छ।
छनोटमा प्रतिस्पर्धा गर्ने १० मध्ये बाँकी ४ टिमको टुंगो लाग्न बाँकी छ। सुपर लिग-२ टिम र प्लेअफ क्वालिफायरबाट दुई टिम विश्वकप छनोटमा पुग्न बाँकी छ।