इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंग्लाेर (आरसिबी)ले मुम्बई इण्डियन्सलाई हराएको छ।
बैंग्लुरूको चिन्नास्वामी स्टेडियममा आइतबार राती भएको खेलमा मुम्बईलाई ८ विकेटले पराजित गर्दै आरसिबीले सुखद सुरूआत गरेको हो।
मुम्बईले दिएको १७२ रनको लक्ष्य आरसिबीले १६.२ ओभर खेल्दै दुई विकेट गुमाएर भेट्टाएको थियो।
कप्तान फाफ डु प्लेसिस र ओपनर विराट कोहलीको विस्फोटक ब्याटिङले २२ बल बाँकी छँदै खेलको परिणाम आरसिबीको पक्षमा पुगेको थियो।
४९ बल खेलेका कोहलीले ६ चौका र ५ छक्का प्रहार गर्दै अविजित ८२ रन बनाए। त्यस्तै कप्तान फाफ डुले ४३ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ७३ रन बनाए।
कप्तानको विकेटपछि मैदान आएका दिनेश कार्थिक शून्य रनमै आउट हुँदा ग्लेन म्याक्सवेलले अविजित १२ रन बनाए।
बलिङतर्फ अर्सद खान र क्यामरून ग्रिनले एक–एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो।
मुम्बईका लागि तिलक वर्माले ४६ बलमा ९ चौका र ४ छक्काको मद्दतले अविजित ८४ रन बनाए पनि हार टार्न सकेनन्।
खेलमा नेहल वधेराले २१, सूर्यकुमार यादवले १५ र इशान किशनले १० रन बनाउनुबाहेक अन्य ब्याट्मेनले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान रोहित शर्मा शून्य रनमै आउट भएका थिए।
बलिङतर्फ कर्ण शर्माले दुई विकेट लिए । मोहम्मद सिराज, रिसी टोप्ले, आकाश दिप, हर्शल पटेल र माइकल ब्रेसवेलले समान एकएक विकेट लिए।
जितसँगै आरसिबीले अंक तालिकाको शीर्ष पाँचमा स्थान बनाएको छ भने हार ब्यहोरेको मुम्बई आठौं स्थानमा छ।
अर्को खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ७२ रनले पराजित गर्यो।