अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्दैछन्।
पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी-२० विश्वकपमा पहिलो पटक २० टिमले सहभागिता जाउँदैछन्।
२०२४ को टी-२० विश्वकपमा १२ टिम सिधै छनोट भएका छन् भने ८ टिमले क्षेत्रीय छनोट चरण पार गर्नुपर्नेछ।
गत वर्षको अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा भएको टी-२० विश्वकपको शीर्ष आठ टिम २०२४ को विश्वकपका लागि सिधा छनोट भइसकेका छन्। जसमा अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले शीर्ष आठमा परेर २०२४ को विश्वकपका लागि स्थान पक्का गरिसककेका छन्।
अमेरिका र वेस्ट इन्डिज आयोजकको हैसियतमा छनोट भइसकेका छन्। अमेरिकाले पहिलो टी-२० विश्वकप खेल्दैछ।
१४ नोभेम्बर २०२२ सम्मको विश्व वरीयतालाई अर्को छनोटको आधार मानिएको थियो। जसबाट अफगानिस्तान र बंगलादेशले टी-२० विश्वकपमा स्थान बनाइसकेका छन्।
अब बाँकी आठ स्थानका लागि क्षेत्रीय छनोट हुनेछ।
सिधा छनोट भएका टिम
टी-२० विश्वकप २०२२ को शीर्ष ८ टिम (अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका)
आयोजक अमेरिका र वेस्ट इन्डिज गरी २ टिम
आइसिसी विश्व वरीयताका २ टिम (अफगानिस्तान र बंगलादेश)
जम्मा १२ टिम
क्षेत्रीय छनोटबाट
अफ्रिका – २ टिम
अमेरिका – १ टिम
एसिया – २ टिम
इस्ट एसिया प्यासेफिक – १ टिम
युरोप - २ टिम
जम्मा – ८ टिम
नेपाल एसिया छनोटमा, ८ टिम मध्ये शीर्ष दुईमा परे विश्वकपमा
एसियाको अन्तिम छनोटमा नेपालले स्थान बनाएको छ। अन्तिम छनोटमा नेपालसँगै युएई, ओमान, हङकङ, सिंगापुर र बहराइन अन्तिम छनोटमा पुगिसकेका छन्।
अब प्रारम्भिक छनोटबाट दुई टिम एसिया छनोटको अन्तिम चरणमा पुग्नेछन्।
एसियाको पहिलो चरणको समूह ‘ए’ मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन् भने समूह ‘बी’ मा भुटान, चीन, मलेसिया, म्यानमार र थाइल्यान्ड छन्। दुवै समूहको शीर्ष टिम एसिया छनोटमा पुग्नेछन्।
एसिया छनोट
बहराइन, नेपाल, ओमान, हङकङ, सिंगापुर, युएई, छनोट ए विजेता, छनोट बी विजेता – दुई टिम टी-२० विश्वकप २०२४ मा पुग्ने।
पहिलो चरणको छनोट आगामी अगस्टपछि हुनेछ। त्यसपछि एसियाको अन्तिम चरणको छनोट हुनेछ।
नेपालले आगामी जुनमा एकदिवसीय विश्वकप २०२३ को अन्तिम छनोट खेल्दैछ। जिम्बावेमा हुने छनोटमा नेपालसहित १० टिमले भाग लिँदैछन्। जहाँ विश्वकप विजेता देशहरु श्रीलंका र वेस्ट इन्डिज पनि भिड्दैछन्।
एकदिवसीय विश्वकपको छनोट खेलेको केही महिनापछि नेपालले टी-२० विश्वकप २०२४ को छनोट खेल्दैछ।
यसपटकदेखि क्षेत्रीय छनोटबाटै टी-२० विश्वकपका लागि सिधा छनोट हुने प्रावधानसँगै नेपालले एसिया छनोट खेल्न लागेको हो।
युरोप, अमेरिका र इस्ट एसिया प्यासेफिक क्षेत्रीय छनोटको आयोजक राष्ट्र र मिति तय भइसकेको छ। तर एसिया छनोटको आयोजक र मिति तय भइसकेको छैन। यद्यपी आइसिसीले सन् २०२३ को अन्तिम चार महिना भित्रमा छनोट प्रतियोगिता आयोजना गर्ने जनाएको छ।