बलियो नेपाल न्युट्रिशन इनिसियटिभको आयोजनामा चैत २२ गतेदेखि २७ गतेसम्म बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ।
पोखरास्थित पोखरा क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ।
सहभागी टोलीमा इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी तथा पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर छन्।
टोलीहरुलाई दुई समुहमा विभाजन गरी लिग कम नक–आउटका आधारमा टि–२० फर्म्याटमा खेलहरु संचालन हुनेछन्।
प्रतियोगिता व्यवस्थापन अन्तर्गतका सम्पूर्ण कार्यहरु समेत अन्तिम चरणमा रहेको आयोजकको भनाइ छ।
खेल क्षेत्रको माध्यमबाट खाद्य स्वच्छता र पोषणबारे सचेतना फैलाउने उदेश्य अनुसार बलियो नेपाल न्युट्रिशन इनिसियटिभले खेल जगत्, विशेष गरि ग्रासरुट क्रिकेटको प्रबद्धनका लागि २०७८ सालदेखि बलियो नेपाल कप आयोजना गर्दै आइरहेको छ।
संस्थाले अघिल्ला बर्षहरुमा लुम्बिनी प्रदेशको १२ जिल्लाहरुको सहभागितामा बलियो नेपाल कपको पहिलो संस्करणको आयोजना गरेको थियो।
दोश्रो संस्करण काठमाडौंस्थित मुलपानी क्रिकेट स्टुडियमको खेल मैदानमा पाँचवटा प्रदेश (प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बलियो ११) को सहभागितामा प्रतियोगिता आयोजना गरेको थियो।