आइपिएल २०२३ अन्तर्गत गुजरात टाइटन्सले लगातार दोस्रो खेलमा जित हात पारेको छ। मंगलबार राति भएको खेलमा गुजरातले दिल्ली क्यापिटल्समाथि ६ विकेटको जित निकाल्यो। दिल्लीको भने यो लगातार दोस्रो हार हो।
दिल्लीमा घरेलु टिमले दिएको १६३ रनको लक्ष्य गुजरातले १८.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
गुजरातका लागि २१ वर्षीय ब्याट्सम्यान साइ सुदर्शनले नटआउट ६२ रन जोडे। उनले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
चेन्नईमा जन्मिएका सुदर्शनले तमिल नाडुबाट रणजी ट्रफी, मुस्ताक अली ट्रफी र विजय हजारे ट्रफी गरी भारतको तीन फर्म्याटकै राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्।
मंगलबार गुजरातका लागि ऋद्धिमान साह र शुभमन गिलले १४-१४ रन जोड्दा विजय शंकरले २९ रन तथा डेभिड मिल्नरले नटआउट ३१ रन जोडे।
बलिङमा दिल्लीका एनरिच नोर्कियाले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा १६२ रन जोड्यो।
दिल्लीका लागि कप्तान डेभिड वार्नरले सबैभन्दा बढी ३७ रन जोड्दा अक्षर पटेलले ३६ तथा शर्फराज खानले ३० रन बनाए।
बलिङमा गुजरातका मोहमद सामी र रासिद खानले ३-३ विकेट लिए। अल्जारी जोसेफले २ विकेट हात पारे।