आइसिसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा अमेरिकाले जर्सीमाथि रोमाञ्चक जित हासिल गर्दै क्रिकेट विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान पक्का गरेको छ।
अमेरिकासँगै हेड-टू-हेड रेकर्डको आधारमा युएई पनि विश्वकप छनोटमा पुगेको छ।
यता पपुवा न्युगिनी र जर्सीलाई पछि पार्दै प्रतियोगिताबाट युएई र क्यानडाले एकदिवसीय मान्यता प्राप्त गरेका छन्।
नामिबियामा जारी प्रतियोगितामा घरेलु टिम नामिबियासँगै अमेरिका, युएई, क्यानडा, जर्सी र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भइरहेको छ।
अमेरिका सबै पाँच खेल खेल्दा ८ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको नामिबियाको ५ खेलबाट ६ अंक छ। चार खेल खेलेको युएई ६ अंक जोड्दै तेस्रो स्थानमा छ। हेड टु हेडमा नामिबियालाई पछि पार्दै युएई विश्वकप छनोटमा पुगेको हो।
चौथो स्थानको क्यानडाको ४ खेलबाट ४ अंक र पाँचौ स्थानको जर्सीको २ अंक छ। आजको खेलमा जित हात पारे पनि जर्सीले क्याडनालाई हेड टु हेडमा पछि पार्न सक्नेछैन। जसका कारण क्यानडाले एकदिवसीय मन्यता प्राप्त गरेको हो। पुछारको पपुवा न्युगिनीले चारै खेलमा हार बेहोरिसकेको छ भने एकदिवसीय मान्यता पनि गुमाएको छ।
प्रतियोगिताबाट शीर्ष दुई टिम विश्वकप छनोटमा पुग्ने प्रावधानअनुसार अमेरिका र युएईले विश्वकप छनोटमा स्थान पक्का गरेका हुन्।
यस्तै नामिबिया र अमेरिकाले विश्वकप लिग-२ बाटै एकदिवसीय मान्यता कायम गरेको अवस्थामा युएई, क्यानडा, जर्सी र पपुवा न्युगिनी मध्ये दुई टिमले एकदिवसीय मान्यता पाउने अवस्था थियो।
विश्वकप छनोट आगामी जुलाईमा जिम्बावेमा हुँदैछ। विश्वकप छनोटबाट दुई टिम विश्वकपमा पुग्नेछन्।
विश्वकप छनोटमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ। जहाँ नेपालसहित वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, नेदरल्याण्ड्स, स्कटल्यान्ड, ओमान, अमेरिका र युएई गरी ९ टिमले खेल्ने पक्का भइसकेको छ।
छनोटमा प्रतिस्पर्धा गर्ने १० मध्ये बाँकी १ टिमको टुंगो लाग्न बाँकी छ। सुपर लिगबाट एक टिम विश्वकप छनोटमा पुग्न बाँकी छ।
विश्वकप छनोटमा १० टिमलाई दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहका शीर्ष तीन टिम सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्सका शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्।