नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा सुधार गरेको छ। आइसिसी क्रिकेट विश्वकप लिग–२ को पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयताको १४ औं स्थानमा आइपुगेको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार अपडेट गरेको ओडिआईतर्फको वरीयतामा नेपाल १४ औं स्थानमा उक्लिएको हो।
यो सँगै नेपालले पछिल्लो वरीयतामा नेदरल्यान्ड्सलाई पछि पारेको छ । नेपालको सुधार हुँदा नेदरल्यान्ड दुई स्थान तल झदै १६ औं स्थानमा पुगेको छ । नेपाल भन्दापछि ओमान १५ औं, नेदरल्यान्ड्स १६ औं, अमेरिका १७ औं र नामिबिया १८ औं स्थानमा छन्।
युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन्। नेपाल भन्दा अगाडि जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं र आयरल्यान्ड ११ औं स्थानमा छन्। नेपाल भन्दा अघि वरीयतामा एसोसिएट टोलीको रूपमा स्कटल्यान्ड मात्रै छ ।
घरेलु मैदानमा स्कटल्याण्ड र नामिबियासँगको लिग–२ खेल्नुअघि १९ औं स्थानमा रहेको नेपालले त्यसपछिका १२ खेलमा ११ जित निकाल्दै आफूलाई ५ स्थान सुधार गरेको हो।
सात राष्ट्र सम्मिलित लिग–२ मा शीर्ष तीनमा रहँदै नेपालले विश्वकप छनोटमा स्थान बनाइसकेको छ।
नयाँ ओडिआई वरीयतामा अष्टेलिया शीर्ष स्थानमा उक्लिएको छ। न्युजिल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा छ। इंग्ल्यान्ड चौथो,
पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, वेस्टइन्डिज नवौं र अफगानिस्तान दशौं स्थानमा छन्। टि२० आई विश्व वरियतामा भने नेपाल १६ औं स्थानमा यथावत छ ।
खेलाडीतर्फ ओडिआई वरियतामा नेपालका कप्तान रोहित पौडेल ब्याटिङतर्फ एक स्थान खस्किदै ५९ औं स्थानमा पुगेका छन्। ओपनर आसिफ शेख एक स्थान सुधार गर्दै ६५ औं स्थानमा छन्।
त्यस्तै बलिङतर्फ भने सन्दीप लामिछाने २२ औं स्थानमा यथावत छन्। दीपेन्द्र सिंह ऐरी ५३ औं स्थानमा यथावत छन् । सोमपाल कामीले एक स्थान सुधार गर्दै ६८ औं स्थानमा उक्लिएका छन् । करण केसी ९६ औं स्थानमा यथावत छन्।
एकदिवसीय वरियता (अप्रिल ५)
स्थान | टोली | खेल | अंक | रेटिङ |
---|
१ | अष्ट्रेलिया | ३५ | ३९६५ | ११३ |
२ | न्युजिल्याण्ड | ३१ | ३५०४ | ११३ |
३ | भारत | ४७ | ५२९४ | ११३ |
४ | इंग्ल्याण्ड | ३६ | ३९८८ | १११ |
५ | पाकिस्तान | २५ | २६४९ | १०६ |
६ | दक्षिण अफ्रिका | ३१ | ३१४१ | १०१ |
७ | बंगलादेश | ३८ | ३३६२५ | ९५ |
८ | श्रीलंका | ३६ | ३०९९ | ८६ |
९ | वेस्ट इन्डिज | ४३ | ३१०५ | ७२ |
१० | अफगानिस्तान | २० | १४१९ | ७१ |
११ | आयरल्याण्ड | २७ | १३८४ | ५१ |
१२ | स्कटल्याण्ड | ३५ | १५६७ | ४५ |
१३ | जिम्बाब्वे | ३१ | १३५१ | ४४ |
१४ | नेपाल | ४० | १२३८ | ३१ |
१५ | ओमान | ३० | ९१९ | ३१ |
१६ | नेदरल्याण्ड्स | २६ | ७९१ | ३० |
१७ | अमेरिका | ३६ | १०९३ | ३० |
१८ | नामिबिया | ३७ | १०९६ | ३० |
१९ | युएई | ३९ | ९०५ | २३ |
२० | पपुवा न्यू गिनी | ४२ | ११० | ३ |