पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित निकालेको छ।
लिग अन्तर्गत बुधबार राति पञ्जावले राजस्थान रोयल्समाथि ५ रनको रोमाञ्चक जित निकाल्यो।
गुवाहिटीस्थित बार्सापारा क्रिकेट रंगशालामा पञ्जावले प्रस्तुत गरेको १९८ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो।
उसका लागि कप्तान सन्जु साम्सनले सर्वाधिक ४२ रन बनाए। यस्तै सिमरन हेटमायरले ३६ रन बनाउँदा ध्रुव जुरेलले नटआउट ३२, देवदत्त पडिकलले २१, रियान परागले २१ र जस बटलरले १९ रन बनाए।
राजस्थानलाई रोक्न पञ्जावका नाथन एलिसले सर्वाधिक चार विकेट लिए। यस्तै, अर्शदीप सिंहले दुई विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १९७ रन बनायो।
पञ्जावका लागि कप्तान शिखर धवनले सर्वाधिक ८६ रन बनाएका थिए। धवनले ५६ बलमा नौ चौका र तीन छक्का प्रहार गरे। प्रभसिम्रन सिंहले ६० रन बनाए। धवन र प्रभसिम्रनले पहिलो विकेटका लागि ९० रनको साझेदारी गरेका थिए। जितेश शर्माले २७ र मोहम्मद साहरूख खानले ११ रन बनाए ।
राजस्थानका जासन होल्डरले दुई विकेट लिए। युजवेन्द्र चहल र रविचन्द्रन आश्विनले समान एक विकेट लिएका थिए।
यो जितसँगै दुई खेलबाट चार अंक जोडेको पञ्जाव तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट दुई अंक जोडेको राजस्थान तालिकाको चौथो स्थानमा छ। समान खेलबाट ४ अंक नै जोडेको गुजरात टाइटन शीर्ष स्थानमा छ।