शिखर धवनको धमाकेदार ब्याटिङमा पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई हराएको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराती भएको खेलमा पञ्जावले राजस्थानलाई ५ रनले पराजित गरेको हो।
जितका लागि १९८ रनको लक्ष्य पाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै १९२ रनमात्रै बनाउन सक्यो।
राजस्थानका लागि कप्तान सन्जु शामसनले सबैभन्दा धेरै ४२ रन बनाए। २५ बल खेलेका शामसनले ५ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै शिम्रोन हेटम्यरले १८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३६ रन बनाए। । ध्रुव जुरेलले अविजित ३२ रन बनाउँदा रियान पारागले २० रन, देवदत पादिकलले २१ रन र जोस बट्लरले १९ रन बनाए।
ओपनर यशवी जैसवालले ११ रनमात्रै बनाउँदा अर्का ओपनर रविचन्द्र अस्विन शून्य रनमै आउट हुन पुगे।
बलिङतर्फ पञ्जाबका नाथन इलिसले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका नाथनले ३० रन खर्चिएर चारै विकेट लिएका हुन्।
त्यस्तै अर्शदिप सिंहले दुई विकेट लिए भने उनले ४७ रन खर्चिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १९७ रन बनाएको थियो।
ओपनरद्वय प्रभसिम्रमन सिंह र शिखर धवन चम्किँदा पञ्जाबले फराकिलो योगफल तयार पारेको हो।
पञ्जाबका कप्तानसमेत रहेका धवनले ५६ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै अविजित ८६ रन बनाए। ओपनर सिंहले ३४ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ६० रन बनाए।
त्यस्तै जितेश शर्माले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रन बनाए भने मशुद शाहरूख खानले ११ रन बनाए।
बलिङतर्फ राजस्थानका लागि जेसन होल्डरले दुई विकेट लिँदा रविचन्द्रन अश्विन र युजवेन्द्र चाहलले समान एकएक विकेट लिए।
जितसँगै पञ्जाब अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ भने राजस्थान चौथो स्थानमा छ।