निर्माण सुरू भएको १६ वर्षपछि अन्तर्राष्ट्रिय खेल आयोजनका लागि मूलपानी (माथिल्लो मैदान) मा अहिले धमाधम मर्मत कार्य हुँदैछ।
नेपाल क्रिकेट संघ (क्यान) को स्वामित्वमा रहेको मैदानमा वैशाख ५ देखि एसिसी प्रिमियर कप २०२३ अन्तर्गतका ११ वटा खेल हुँदैछन्।
नेपालको भने एक खेल मात्र मूलपानी मैदानमा हुनेछ। नेपालले वैशाख ११ मा मूलपानीमा साउदी अरेबियासँग खेल्ने तालिका छ। समूह चरणका बाँकी खेल नेपालले कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल्नेछ।
प्रिमियर कपमा नेपालसहित १० टिमले भाग लिँदैछन्। वैशाख ५ मा सिंगापुर र हङकङ मैदान उत्रिएसँगै मूलपानीमा पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ।
सन् २००७ मा निर्माण सुरू भएको मैदानमा अहिले चेन्जिङ रूम, शौचालय, मैदानको वरिपरि तारजाली, रंगरोगनका लगायतका काम भइरहेको छ। यस्तै, मैदानको लेबलिङ तथा घाँस काट्ने काम पनि धमाधम भइरहेको छ।
मैदानमा रहेको ६ वटामध्ये तीन वटा पीच प्रतियोगितामा प्रयोग गरिनेछ। तीन वटा पीचलाई उत्कृष्ट बनाउनका लागि क्युरेटरले छुट्टै काम गरिरहेका छन्।
एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले निरन्तर निरीक्षण गरिरहेको मैदानको निर्माण प्रतियोगिता सुरू हुनु दुई दिन अघिसम्म सक्ने क्यानका कार्यबाहक सचिव दुर्गाराज पाठकले सेतोपाटीलाई जानकारी दिए।
भिडिओ :
‘हामी तीव्रताका साथ काम अघि बढाइरहेका छौं। प्रतियोगिता सुरू हुन दुई/तीनअघि हामी निर्माण कार्य सक्छौं,’ पाठकले सेतोपाटीसँग भने, ‘मैदानको निर्माण कार्यको दैनिक अपडेट एसिसीलाई पनि पठाइरहेका छौं। उहाँहरू हाम्रो काम देखेर सन्तुष्ट हुनुहुन्छ।’
मैदान मर्मतका लागि ४० लाख रुपैयाँ लाग्ने क्यानको अनुमान छ।
मैदान मर्मतका लागि कागेश्वरी मनोहरा नगरपालिकाले सहयोग गरिरहेको कार्यसचिव पठाकले बताए। साथै प्रतियोगितामा दर्शक व्यवस्थापनको जिम्मा नगरपालिकालाई दिएको उनले बताए।
३ देखि ४ हजार दर्शकलाई मैदानको दक्षिण पट्टीको चउरमा प्रवेश दिने तयारी गरिएको छ। दर्शक व्यवस्थापनको जिम्मा पाएको नगरपालिकाले नि:शुल्क रूपमा दर्शकलाई प्रवेश दिने तयारी गरिरहेको छ। अहिलेको अवस्थामा दर्शकले चउरबाट उभिएर वा बसेर खेल हेर्नुपर्ने अवस्था छ।
सरकारको स्वामित्वमा रहेको मूलपानी तल्लो मैदानलाई क्यानले प्रतियोगिताकको अभ्यास भेन्यू बनाएको छ।
दुवै मैदानमा अन्तर्राष्ट्रिय खेलाडीको उपस्थिति रहने भएकाले त्यो क्षेत्रमा सुरक्षाको राम्रो प्रवबन्ध मिलाइने क्यानको भनाइ छ।
दुई मैदानको बीच रहेको सडकलाई पनि प्रतियोगिता अवधि सवारी साधन सञ्चालनमा रोक्न लगाउने तयारी छ। सो सडकको विकल्प खोज्न स्थानीयलाई अनुरोध गरिने सचिव पाठकले बताए।
नेपालमा अहिलेसम्म कीर्तिपुर मैदानमात्र अन्तर्राष्ट्रिय खेल खेलाउने भेन्यू भएकाले मूलपानीलाई दोस्रो अन्तर्राष्ट्रिय मैदानको रूपमा विकास गर्ने लक्ष्य क्यानको छ।
‘हामीले मूलपानी मैदानलाई अन्तर्राष्ट्रिय भेन्यूको रूपमा विकास गर्नेछौं। अहिले एसिसीका खेल भएपछि थप पूर्वाधार विकास गरेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल गराउन अघि बढ्छौं,’ पाठकले भने।
मैदानमा २०७४ को कात्तिकदेखि औपचारिक रूपमा राष्ट्रिय प्रतियोगिता हुँदै आएका छन्। २०७४ मा सदस्यसचिव ११ र भेट्रान्स ११ टिमबीच मैत्रीपूर्ण खेल आयोजना गर्दै मैदानको उद्घाटन गरिएको थियो।
राष्ट्रिय प्रतियोगिताका लागि कामचलाउ पूर्वाधारमा खेल सञ्चालन गरिए पनि अन्तर्राष्ट्रिय खेलका लागि चाहिने पूर्वाधार भने झन्डै पाँच वर्षपछि निर्माण सम्पन्न हुन लागेको हो।
सन् २००७ मा निर्माण सुरू भएको मैदान १० वर्षपछि खेल्न योग्य बनेको थियो। क्यानको आन्तरिक विवादले निर्माण कार्यमा ढिलाइ भएको थियो। क्यानलाई २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले निलम्बन गरेपछि त निर्माण ठप्प नै बनेको थियो।
मूलपानी मैदान निर्माण कार्यमा अहिलेसम्म ७ करोड रुपैयाँ बढी लगानी भइसकेको छ। मैदानमा ४ करोड खर्चेर पेभिलियन निर्माण गरिएको थियो। २०६६ मा पाकिस्तानी क्युरेटरले मैदानको मध्यभागमा पिच बनाएका थिए।
२०६९ मा ६५ लाख रुपैयाँ लगानीमा पर्खाल बनाएपछि मैदान निर्माण कार्य रोकिएको थियो। निर्माण रोकिएको पाँच वर्षपछि २०७४ मा फेरि निर्माण थाल्दै खेल्न योग्य बनाइएको थियो।
थप तस्बिरहरू :-