दोस्रो संस्करणको मिल्स क्रिकेट टी-२० प्रतियोगिताको उपाधि भारत विहारको राहुल–११ नरपथगञ्जले जितेको छ।
विराटनगरको जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा एनबिएससी क्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो। जितसँगै नरपथगञ्जले एक लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता विराटनगरले ५१ हजार रुपैयाँ प्राप्त गरेको छ।
एक सय ५८ रनको लक्ष्य पछ्याएको नरपथगञ्जले १८ दशवलम दुई बलमा सात विकेट गुमाई पूरा गर्यो। नरपथगञ्जका भानु आनन्दले ३५ बल खेल्दै छ छक्का र चार चौका प्रहार गर्दै ६३ रन बनाए। उनी प्लेयर अफ द म्यान घोषित भए। उनले ११ हजार रुपैयाँ प्राप्त गरे। नरपथगञ्जका विजय भारतीले ३६ रन र साहिल कुमारले २५ रन बनाए।
विराटनगरका विधान गोस्वामीले चार विकेट लिए भने साकिबुल गनीले दुई र मोहित कुमारले एक विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको एनबीएससीले १९ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको थियो। विराटनगरका रोहन बिकेले ४४ रन, प्रशान्त कुमारले २२ रन र विपिन सौरवले २१ रन बनाए। नरपथगञ्जका लागि अमन सिंह, सक्षम शर्मा, रबडा र साहिल कुमारले समान दुई-दुई विकेट लिए।
उत्कृष्ट ब्याटर नरपथगञ्जका अभिषेक पाठक भए भने उत्कृष्ट बलर एनबिएससी विराटनगरका अनुभव श्रीवास्तव बने। प्लेयर अफ द सिरिज एनबिएससीका विधान गोस्वामी घोषित भए। उनीहरूले जनही १५ हजार रुपैयाँ प्राप्त गरे। उदयमान खेलाडी मिल्स एकाडेमीका अभय कुर्मी भए। उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे।