खेलाडीमाझ ट्याटु निकै लोकप्रिय छ। फुटबल, क्रिकेटका लोकप्रिय खेलाडीको ट्याटुले बेलाबेला चर्चा पाइरहन्छ।
ट्याटु खोपाउने खेलाडीमध्येका केभिन पिटरसनको ट्याटुको चर्चा भने बेग्लै छ। इंल्याण्डका पूर्व क्रिकेटर पिटरसनको ट्याटु सामान्यभन्दा अलग मानिन्छ। उनले आफ्नो ट्याटुमा जीवनयात्रा नै समेटेका छन् भन्दा फरक पर्दैन।
पिटरसनले सन् २०१५ मा आफ्नो शरिरमा विश्व नक्साको ट्याटु खोपाएका हुन्। मेलबर्नका चर्चित कलाकार माइक स्क्वायर्सले खोपेको यो ट्याटु बनाउन डेढ घण्टा लागेको बताइएको छ।
पिटरसनको ट्याटुमा उनको खेल जीवनको सफलता दर्शाइएको छ। विश्वको नक्सा सँगै ठाउँठाउँमा राता तारा खोपिएको छ।
ती ताराले पिटरसनले हानेका शतक दर्शाउँछन्। जुन जुन देशमा उनले शतक हानेका छन् त्यहाँ रातो तारा खोपिएको छ।