भारतीय क्रिकेटका मास्टर ब्लास्टर सचिन तेन्दुलकरका छोरा अर्जुनले राष्ट्रिय टोलीमा स्थान बनाउने तयारीमा लागेका छन्। मुम्बईको युथ–१९ टोली छनोट भएका उनी राष्ट्रिय टिमबाट डेब्यूको तिब्र पर्खाईमा छन्।
सेप्टेम्बर १६ देखि २३सम्म हुने प्रतियोगितामा अर्जुनले बडोदामा आयोजना हुने जेवाई लेले अल इन्डिया युथ–१९ आमन्त्रण क्रिकेट प्रतियोगिताका लागि मुम्बई टिमबाट खेल्दैछन्। अर्जुनले यसअघि मुम्बईको युथ–१४ र युथ–१६ टिमबाट पनि क्रिकेट खेलिसकेका छन्।
उनी पहिलो पल्ट मुम्बईको युथ–१९ टोलीमा समावेश भएका हुन्। मुम्बईको १८ सदस्यीय टिम यस प्रतियोगितामा समावेश छ। ब्याटिङ र बलिङ दुबै गर्ने अर्जुन बाँया हातले तिब्र बलिङ गर्नुका साथै ब्याटिङ पनि गर्छन्।
उनी २०१० मा पहिलो पल्ट युथ–१३ टिममा समावेश भएका थिए। यसपछि उनी पश्चिमी क्षेत्रका लागि युथ–१४ टोलीमा छानिए। उनले युथ–१४ मा खार जिमखानाबाट खेल्ने क्रममा सतक पनि बनाएका थिए। सन् २०११ मा २२ रन खर्चेर ८ विकेट लिएपछि उनी एकाएक चर्चामा आएका थिए।