सिद्धहस्त लेखक संजीव उप्रेतीको अनेकौँ साहित्यिक रचना भए पनि उपन्यासकै रूपमा भने 'घनचक्कर' पछिको दोस्रो उपन्यासको रूपमा 'हंस' नामक कृति पाठकहरू माझ आएको छ।
नेपाली परिवेश, वैदेशिक यात्रा, पन्छीको आवाज र उनीहरूको संसार, वनस्पतिको जमघट, आप्रवासी यात्राको दृष्टान्त, जैविक विविधता संरक्षण, सिमसार, तालतलैयाको जीवन्तता, पर्यावरणीय क्षयीकरणको चासो, माया, प्रेम, सम्बन्ध, मानवीयता र अन्तरसम्बन्ध, नारी स्वतन्त्रता, भौगोलिक सीमितता, चराचुरुङ्गीको स्वतन्त्रता, प्रकृति प्रेम, बाहिरी मुलुकमा आफन्त बन्ने र बनाउने कला, जलचर र जलसम्पदाको अन्तर सम्बन्धलाई समाहित गर्न सफल छ यो कृति।
प्रकृति पूजा, सर्प, भ्यागुता, गड्यौला, हाँस र मानव जीवनसँगको सदियौँ नातालाई चित्रण गर्न सफल यो कृतिलाई निम्न अनुसार संक्षेपमा समीक्षा गर्नु श्रेयष्कर देखिन्छ।
व्यक्ति व्यक्ति बीचको प्रेम र माया अनि भावना र अन्तर सम्बन्ध सदैव स्थायी हुँदैन। यस कृतिमा टौदहलाई भौगोलिक सेरोफेरो मानी लेखक बहेका छन्। यस कृतिमा मूलतः हाँसको सम्बन्धको वर्णन गरिएको छ लहडे हाँस र काली हसिनीको माया प्रेमलाई भौगोलिक सीमाले रोकेको छैन। माया त माया नै हो भने झैँ निर्मल कञ्चन बहेको छ।
हाम्रो समाजको अन्तरसम्बन्धलाई प्रतिबिम्बित गर्न सफल छ- यो कृति। उपन्यासको केन्द्रबिन्दुमा आमा, वृद्ध पुरुष र टौदह रक्षकको भूमिका, मुख्य भूमिकामा रहेको छ।
प्रेम र सीमा, प्रेमको जार अनुज पाण्डे, वैदेशिक रोजगारमा अमेरिका भित्रिएका शेर सिंह, असरफ, रामकुमार र त्यसैगरी अनुज पाण्डेको जेठी श्रीमती माया र कान्छी श्रीमती सिमा बीचको कथा व्यथालाई फेहरिस्त गरिएको छ। युवाहरुको क्रियाकलापलाई उडन्ते रुपमा लिइएको छ, जबकी काका बकुल्ला, महात्मा हाँसलाई विशेष जिम्मेवारीमा रहेका र अभिभावकको रुपमा हेरिएको छ।
हाँस, बकुल्ला, कौवा अनि माछाको आफ्नै भाषा हुने र उक्त भाषालाई अनुभूत गर्न सक्ने क्षमता वृद्ध व्यक्तिले राखेका छन्। चराचुरुङ्गीको आफ्नै संसार हुन्छ, वनस्पतिको आफ्नै संसार हुन्छ, जलचरको आफ्नै संसार छ, मानव जाति बीचको मानवता र मानवीय नाता झैँ नबोल्ने वनस्पति बीच पनि अन्तरसम्बन्ध छ।
माछा माछा बीच पनि सम्बन्ध छ, ठूला माछाले साना माछालाई निल्ने नियमलाई अप्रजातान्त्रिक ठहर गर्दै एउटा नियमले बाँधिएर पद्धति, थितिलाई टेकेर माछाको जिउन पाउने अधिकार सुरक्षित गरी प्रजातन्त्रको हक सुरक्षण गर्न सभा छलफल भएको तर्फ उपन्यासले ध्यान दिएको छ।
परम्परागत मूल्य मान्यतालाई नै निरन्तरता दिने आम प्रवृतिलाई सुधार गर्ने प्रयत्नमा लागेका अभियन्तालाई युवा पुस्ताले टेरेका छैनन्। चाहे त्यो बकुल्लाको संसारमा होस्, चाहे त्यो हाँसको संसारमा किन नहोस? दहको पीधको इतिहासको खोजीमा नवपुस्ता आकर्षित नभएकोमा जेष्ठ समाज चिन्तित छन्।
ज्ञान हस्तान्तरण त पुरानो पुस्ताबाट नयाँ पुस्तलाई हुने न हो तर मान्छेको समाजमा नयाँपुस्ताले जिम्मेवारी लिन चाहदैन। त्यसैगरी बकुल्लाको समाजमा नवपुस्ता जिम्मेवारीबाट बाहिरिँदै छ, त्यसैगरी हाँसको समाजमा पनि नवीनतम खोजमा पस्न चाहँदैन। यस उपन्यासमा वातावरणीय क्षयीकरणलाई चिन्ताको रूपमा व्याख्या गरिएको छ।
मानवीय पक्षलाई पनि सहज रुपमा चित्रण गरिएको छ, दुवै श्रीमतीको उपस्थितिमा अनुजलाई हरेकले आश्रय दिएका छन्। त्यसैगरी सिमा र माया बीच सुरुमा वाकयुद्ध भए पनि पछि उनीहरूबीचको अन्तरसम्बन्ध संयोगान्तमा टुंगिएको छ, मधुर छ, मिठासपूर्ण छ! 'दुई श्रीमतीको पोइ, कुना पसी रोइ' भन्ने कुरोले पिरोलेको छ, अनुज पाण्डेलाई।
प्रेम र उसको जार अनुज पाण्डे बीचको भेटघाट र अनुजको व्याख्या अनि प्रेममा उप्रतिको क्रमागत रुपमा विकसित दृष्टिकोण पनि अर्थपूर्ण छ। हाम्रो समाजमा कसैलाई सिद्धाउनु परे 'जार काटेझैँ काट्नु् पर्छ' भन्ने आहान छ, यहाँ प्रेम घरिघरि सिरुपाते भोजपुरे खुकरी झोला भित्र छाम्छ मात्र अनि अनुजको शब्द चित्रणमा लठिन्छ।
कतिपय प्रसंगमा प्रेमले सिमालाई बुझ्न नसकेको जस्तो अनुभूति पनि हुन्छ, नारीमाथिको दमनमा नारी छैनन् भन्ने मान्यतालाई थप टेवा पुर्याउन सफल छिन् सिमा। हातपात गर्ने श्रीमानलाई त्यसपछिका दिनमा परित्याग गर्न सफल छिन् सिमा। त्यसैगरी अमेरिकामा शारीरिक आवश्यकता पूरा गर्ने साथीको रुपमा अनुजसंगको सहकार्य र उसबाट जन्मने बच्चाको जिम्मेवारी आफ्नै हुने उद्घोषबाट नारी कति स्वतन्त्र र आत्मनिर्णयको भागीदार छन् भन्ने पक्षलाई पनि उजागर गर्न खोजिएको छ।
यसैगरी यस कृतिमा प्रेमको श्रीमती सिमा माथि अनुजको, बैंकको हाकिमको हातलाईमा नेपालको भूमि सीमा माथि भारतीय हस्तक्षप अर्थात् सिमाको भूगोलमा अनुजको रमाइलो नेपाली भूमिमा भारतीय विस्तारवादको अध्यायतर्फ इंगित गर्न पनि खोजिएको पो हो कि? त्यस्तै यस कृतिले कागले बच्चा कोरल्न नसके पनि, त्यसैगरी बच्चा कोरेली सकेपछि पनि नयाँ जोडी रोज्न पाउँछ।
हाँसको संसारमा पनि नयाँ जोडी रोज्न कुनै आइतबार कुर्नु पर्दैन तर यो छुट मानव जातिको समाजमा त्यति सहज छैन। मानव जातिको जोडी स्थायी प्रकृतिको हुने पाटोलाई पनि संयोजन गरिएको छ।
यस कृतिले टौदह जस्ता पोखरी, सिमसारको संरक्षण, जलचर, पारिस्थितिकीय प्रणालीको संरक्षणका साथसाथै जैविक विविधताको संरक्षण जस्ता पक्षलाई पनि सारमा केलाएको छ। भाषा, शब्दावली, सन्देशको हिसाबले यो कृति पठनीय एवम संग्रहनीय मान्न सकिन्छ।
जनजिब्रोको शब्दलाई टपक्क टिपेर मौलिकता सहित शब्द बगैँचामा फुलाउनु सक्नु लेखकको सबल पक्ष हो। यद्यपि आमपाठकले विषयवस्तुको गहन पाटोलाई त्यति सहज रुपमा लिदैनन् कि भन्ने पक्ष पनि सँगसँगै जोडिन सक्छ।
कृतिको आध्योपान्त अध्ययनपछि निम्नानुसार बुँदालाई सहजताको लागि टिपोट गर्न सकिन्छ।
- यो उपन्यास सामाजिक संरचनाको प्रतिबम्ब हो,
- प्रेमी र प्रेमिका बीचको सम्बन्धलाई कुनै वाद, विचार र भौगोलिक सीमाले बन्देज लगाउँदैन,
- जवाफदेहीता कम र रंगीन सपनाको तानावानामा युवाहरु रमाउछन्,
- सत्य, तथ्य, वस्तुगत विष्लेशण सहित खोज अनुसन्धानमा जानेलाई उपेक्षा गरिन्छ अर्थात् एक्लो बृहस्पति झुठो बनाइन्छ,
- सामाजिक न्याय, रुपान्तरण र क्रियाशीलताभन्दा पनि परम्परालाई धान्ने प्रवृत्ति सामाजिक रुपमा हावी देखिन्छ,
- बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन भन्ने आहानलाई मुठीभर अगुवाहरु अधिनस्त गर्न चाहन्छन्,
- पशुपन्छी र वनस्पति बीचको सहकार्यको तुलनामा मानवीय सम्वेदना कमी भएको महशुस गर्न सकिन्छ,
- पीडा सबैलाई हुन्छ तर मान्छेले आफ्नो पीडा अरुलाई बाड्दैन र पीडाको बोझ बोकिरहन्छ,
- जैविक विविधता संरक्षणको दृष्टिकोणले पनि यो कृति महत्वपूर्ण छ,
- आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको भन्ने लोकोक्तिलाई महत्वपूर्ण अंशको रुपमा चित्रण गरिएको छ,
- ज्ञान, सीप, प्रविधि पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुँदै जाने विषयलाई सहज रुपमा उल्लेख गरिएको छ,
- गरे के हुन्न, आजै गर्ने, आफैले गर्ने र अहिले नै गर्ने विषयमा जोड दिइएको छ,
- सिमासँगको संसर्गलाई नेपाली भूमि माथिको भारतीय विस्तारवादको रुपमा लाक्षणिक चित्रण पनि हुनसक्छ,
- नेपालको राजनीतिमा हावी राष्ट्रवादी चिन्तनलाई राष्ट्रवादीको कथन र भट्टी पसलको यथार्थसँग जोडी व्यङ्ग्य गरिएको छ,
- वैदेशिक रोजगारमा जाने युवाहरुको पीडा, व्यथा र आप्रवासीको यथार्थतालाई उदांगो पारेको छ,
- प्रवृति आ-आफ्नो हुन्छ, कोही जात्रामा बस्न मन पराउछन्, कोही हेर्न मन पराउछन्, कोही शान्ति चाहन्छन्, कोही घुमफिरमा रमाउछ्न भन्ने घटनाक्रमलाई पशुपन्छी, जलचर र मानिसमा लागु हुने कुरालाई चित्रित गरिएको छ,
- हाम्रो गौरव खोज्नु पर्छ, कथनको भरमा कुदुनु हुँदैन भन्दै दहमा डुब्दै, यसको पिँधमा रहेको इतिहास खोज्ने बुझ्ने प्रयासको लागि अभिप्रेरित गरिएको छ। हामीले हाम्रो राष्ट्रिय अखण्डता र सार्वभौमिकताको ऐतिहासिकतालाई केलाउनै पर्छ,
- माकुरामाथि देउताको बज्र प्रहारको रुपमा नेपालको राजनीतिमा विकसित शक्ति संघर्षप्रतिको इंगितको रुपमा लिन सकिन्छ,
- मानिसमा मात्र होइन, जीवजन्तु, पशुपन्छी र जलचरमा पनि प्रेम हुन्छ, माया ममता हुन्छ भन्ने अर्थसहित लहडे हाँस र काली हसिनीको प्रेम, नागरानी र डोब्रे साप बीचको प्रेम सम्बधलाई लिन सकिन्छ,
- प्रेमको अर्थ के हो भन्ने प्रेम कहानी कविता वाचनबाट प्रेम र सिमा बीच आकर्षन बढेको तर प्रेममा देखिएको मानवीय संवेदनाको अभावमा सम्बन्ध परित्याग गरेको देखिन्छ,
- मानिसबीच बिमति हुँदा डिभोर्स गर्छन् तर ग्रलेग हाँस जीवनभर संगै बस्छन्, यसबाट माया प्रेमको यथार्थतालाई आक्न सकिन्छ,
- राष्ट्रियताको भावना उर्लने खालको नालापानी युद्ध र बर्मा माथिको हमलामा गोर्खालीको बिजयगाथालाई पनि छुन भ्याएको छ,
- चराको संसारमा भालेपोथी दुवै बच्चा कोरल्न, दाना संकलन गर्न र बच्चालाई खुवाउन सहकार्य गर्छन् भन्ने सन्देश दिइएको छ,
- माछाको राज्यको रुपमा रहेको पोखरीभित्र पनि प्रजातन्त्र प्राप्तिको लागि बहस भैरहेको कथन औंल्याइएको छ,
- उडन्ते हाँसको समाधि कथालाई एउटा अनन्त यात्राको रुपमा चित्रण गरिएको छ,
- हाँस र मानव बीचको अन्तर सम्बन्धलाई अन्योन्याश्रित सम्बन्धको रुपमा व्याख्या गरिएको छ।
अन्त्यमा, यो कृति विज्ञान, भाषा, संस्कृति, मूल्यमान्यता, परम्परा, आप्रवासीको कथन, पर्यावरणीय दृष्टिकोण, राष्ट्रिय जागरण, युवा जोस, अनुभवीको ज्ञान र सामाजिक संरचना भित्रको खोतलखातलको अध्ययनका दृष्टिले अर्थपूर्ण छ।