कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य (चौधरी) को जन्मदिनको अवसर पारेर बालकविता संग्रह 'आहाना' सार्वजनिक गरेका छन्।
आइतबार ललितपुरको खुमलटारस्थित प्रिमियमर इन्टरनेशनल स्कूलको सभाहलमा आयोजित एक समारोहबीच बालकविता संग्रह ‘आहाना’ विमोचन गरिएको हो।
कवि चौधरी, उनी छोरी मेघा चौधरी, नातिनी आहाना शाक्य (चौधरी), आहानाका बुवा पारस शाक्य र बालबालिकाहरूले बालकविता संग्रह सामूहिक लोकार्पण गरेका थिए।
चौधरीले आफ्नो साहित्यिक जीवनकै पहिलो बालकविता संग्रह प्रकाशन गरेका हुन्। यसअघि उनका २० वटाभन्दा बढी कविता तथा गीत संग्रह प्रकाशित भइसकेका छन्।
बालकविता संग्रह नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ। ‘कोपिला किताब’ ले प्रकाशन गरेको आहानामा चौधरीका ५६ वटा बालकविताहरू समेटिएका छन्। प्रत्येक कवितासँगै कलाकार भानु भट्टराईले तयार पारेको आकर्षक चित्रांकन समेत समेटिएको छ।
चौधरीले आफूले आफ्नो नातिनी आहानाको प्रतिबिम्ब भएर कविता संगह तयार पारेको बताए।
‘बाल साहित्य मेरो नियमित विधा होइन। यो मेरो पहिलो प्रयास हो। मैले विभिन्न देशको भ्रमण गर्दा त्यहाँ बाल साहित्यले हासिल गरेको उचाइ देख्दा डाह लाग्थ्यो। नेपालमा के कारणले बाल साहित्य पछाडि परेको छ, त्यो बुझ्न सकिरहेको छैन,’ उनले भने।
अनाथ बालगृहका बालबालिकाहरूसँग आहानाको जन्मदिन मनाइएको थियो। ती बालबालिकालाई उनले स्कूल ब्याग समेत वितरण गरेकी थिइन्।