तनहुँ दमौलीका सागर उदासका दुई कृति ‘सागर सुसेली’ र ‘फैलिन्छ कि माया’ सार्वजनिक भएका छन्। राजधानीमा एक कार्यक्रममार्फत उनका दुई कृतिहरू एकसाथ विमोचन भएका हुन्।
गीति सङ्ग्रह ‘सागर सुसेली’ मा १०९ वटा श्रृजना समेटिएका छन्। जसमध्ये अधिकांश पत्र-पत्रिका र अनलाइन न्युज पोर्टलमा प्रकाशित भईसकेका छन् भने केही सङ्गीत समेत भरेका छन्।
४ वर्ष अगाडि कृतिबारे सम्पूर्ण तयारी भए पनि कोभिड र विविध कारणले ढिलाइ भएको गीतकार सागर उदासले विमोचन समारोहमा बताए।
अर्को कृति ‘फैलिन्छ कि माया’ मा १२३ वटा श्रृजनाहरू छन्। कृतिमा मन-मुटु, माया-प्रेम, राष्ट्र- प्रेम र कोभिड्का पीडाहरू झल्किएका छन्।
गीतकार उदासको नेपाली गीत संगीतमा योगदान अत्यन्तै ठूलो रहेको वरिष्ठ सञ्चारकर्मी तथा कवि रमेश पौडेलले बताए।
विमोचन समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवंम गजलकार श्रवण मुकारूङले जीवनको करिव ४ दशक गीत श्रृजनामा बिताएका सर्जक सागर उदासको खुलेर प्रसंशा गरे। उनको श्रृजनाले नेपालको साहित्य क्षेत्रमा ठूलो टेवा पुगेको समेत उनले बताए।
तनहुँको दमौली बजारमा बसोबास गर्दै आएका उदास रसिला गीतकार र सफल व्यवसायी हुन्। उनको दर्जनौं गीत रेकर्ड भइसकेका छन्। उनका गीतहरू राष्ट्रप्रेम, मायाप्रिति र देशभक्ति झल्कने गर्छ।
सरल भाषामा गाउँघरका सुवास झल्किने मायाप्रेम र विकृति विसंगति विरुद्धका गीत, कविता र मुक्तक लेख्दै आएका छन्।
उनको गीतले नयाँ पुस्तालाई देशमै बस्न र सृजनात्मक बनाउन ऊर्जा भर्ने काम गर्छन्।
मिलनसार, सहयोगी र आत्मीय व्यवहारका कारण उनी सामाजिक कामहरूमा समेत मन खोलेर सहयोग गर्छन्। उनी गण्डकी वाङ्मयय प्रतिष्ठानका अध्यक्ष हुन्।
उनी आफ्नो व्यवसायिक कर्मसँगै साहित्य, पर्यटन प्रवर्द्धनमा समेत पनि उत्तिकै क्रियाशिल छन्।
स्कुले जीवनदेखि नै नाचगान सधै अगाडि उनी सानै उमेरदेखि रेडियो नेपाल निरन्तर सुनेर गीत संगीतमा रूची बढेको बताउँछन्। विसं २०५० मा रेकर्ड भएका उनका पहिलो गीत आइसिंह लामाको संगीतमा देवकुमार लामाले गाएका ‘हिँडेको छु छातिभरि व्यथाहरू बोकी, जिन्दगीको परिभाषा दुःख मात्रै हो कि’ हो।
सागर उदासका पहिलो कृति ‘सागरका गीतहरू’ २०५२ सालमा प्रकाशित भएको थियो। उनले २०६० सालमा ‘आभार’ नामक पहिलो गीति एल्बम र २०७० मा दोस्रो एल्बम ‘रवी’ रेकर्ड गरेका थिए।
उनी चोटिला मुक्तक र रसिला गीत लेख्नमा निपुण छन्। गीतकार रमेश पौडेलको दुवै कृतिका सम्पादन र संयोजन गरेका हुन्।
विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गजलकार ललिजन रावल, वसन्त वित्यासी थापा अध्यक्ष गीतकार संघ नेपाल, बिबि अनुरागी वरिष्ठ संगीतकार, राजन राज शिवाकोटी गायक, तारा प्रसाद वस्ती सहित्यकार, कन्सेप्ट नेपालका संयोजक पवन शाक्य लगायतले सागर उदासको गीति संग्रहको चर्चा गरेका थिए।